आर्यनको रहस्मय उपस्थिति

झिँगेदाउ २ मा देउरानी–जेठानीको द्वन्द



झिँगेदाउको सफलतापछि निर्देशक ज्ञानेन्द्र देउजाले नै निर्देशन गरेको त्यसको सिक्वेल फिल्म झिँगेदाउ २ को टिजर ललितपुरमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

पारिवारिक कथावस्तुमा आधारित झिँगेदाउ २ को १ मिनेट ५१ सेकेन्डको टिजरमा फिल्मको कथा र पात्रहरूको झलक प्रस्तुत गरिएको छ। टिजरले पहिलो भागकै पारिवारिक परिवेशलाई निरन्तरता दिएको छ। देउरानी–जेठानीबीचको घरायसी द्वन्द्व, परिवारभित्रको तनाव र सम्बन्धमा आउने उतारचढावलाई टिजरमा प्रस्तुत गरिएको छ।

टिजरको सुरुआतमै हिउ“वाला गौतम मध्यरातमा घर छोडेर हिँडेको दृश्य छ भने त्यसपछि परिवारका सदस्यहरू उनलाई खोज्न निस्किएको देखाइएको छ। टिजरले पहिलो भागको स्वाद कायम राख्दै कथामा नया“ मोड पनि थपेको संकेत दिएको छ। विशेषगरी साङ्लोले बाँधिएको अवस्थामा देखिएका आर्यन सिग्देलको रहस्यमय उपस्थितिले टिजरप्रति दर्शकको उत्सुकता बढाएको छ।

टिजर सार्वजनिक कार्यक्रममा उपस्थित अधिकांशले यसको खुलेर प्रशंसा गरेका छन्। पारिवारिक कथालाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको भन्दै उनीहरूले टिजरले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरे। पहिलो भागले बक्स अफिसमा सुपरहिट व्यापार गरेकाले आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने झिँगेदाउ २ बाट पनि निर्माण टिमले ठूलो अपेक्षा राखेको छ।

आँचल शर्मा र केकी अधिकारी देउरानी–जेठानी तथा महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइको भूमिकामा रहेको फिल्ममा सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा, नरेन्द्र थापालगायतको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको कथा, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन निर्देशन, विष्णु घिमिरे ‘कल्पित’ को छायाँकन र मित्र डी गुरुङको सम्पादन रहेको छ। कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको व्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाद्वारा निर्मित फिल्म एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ।