गृहमन्त्रीको जाने भएपछि सिरहामा तनाव, सुरक्षाकर्मीका सवारीसाधन घेराउ


सिरहा।

गृहमन्त्री सुदन गुरुङ मृतक परिवारलाई भेट्न सिरहा जाने भएपछि गोलबजार क्षेत्रमा तनाव उत्पन्न भएको छ। प्रदर्शनका क्रममा मृत्यु भएका बालकको घर पुगेका सुरक्षा निकायका टोली र स्थानीयबीच केही समय तनावको अवस्था सिर्जना भएको हो।

गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधनलाई स्थानीयले मृतकको घरअगाडि घेराउ गरेका छन्।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो।

घटनापछि स्थानीयले प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्। उनीहरूले पक्राउ परेकामाथि ‘साम्प्रदायिक सद्भाव बिगारेको’ आरोप लगाइएको भन्दै निष्पक्ष छानबिन र न्यायको माग गरेका छन्।

गृहमन्त्री गुरुङ मृतक परिवारसँग भेट गरी घटनाबारे जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ।