क्रिकेटर प्रसिद्ध जैसीको सपनाको उडान: चार भित्ताको एकान्तदेखि राष्ट्रिय जर्सीको गौरवसम्म

658
Shares

काठमाडौं।

हरेक मानिसको छातीभित्र सफलताको एउटा सानो दियो बलिरहेको हुन्छ, तर त्यसलाई आकांक्षाको आँधीमा पनि निभ्न नदिई महान् प्रकाशमा बदल्ने साहसीहरू विरलै हुन्छन् । काँढाघारीजस्तै कठिन बाटोमा टेकेर सफलताको शिखर चुम्नु कुनै सहज यात्रा होइन । यसका पछाडि आर्थिक अभाव, भौगोलिक विकटता र सामाजिक चुनौतीका ठूला–ठूला पर्खालहरू उभिएका हुन्छन् । तर, जब मनभित्रैबाट एउटा अदम्य भोक र इमानदार प्रतिबद्धता पलाउँछ, तब परिस्थिति जतिसुकै प्रतिकूल भए पनि अड्चनहरू आफैँ पछाडि हट्न बाध्य हुन्छन् । प्रसिद्ध जैसीको यात्राको सुरुवात पनि कुनै सुविधा सम्पन्न भव्य रंगशालाबाट भएको थिएन । कोभिड–१९ को त्रासले भरिपूर्ण महाव्याधिका कारण पूरा संसार सुनसान र बन्द रहेको बेला चार भित्ताभित्रको एकान्तबाट भएको थियो ।

जतिबेला मानिसहरू निराशा र अन्योलको भुमरीमा थिए, क्रिकेट मैदानहरूमा ताला लागेका थिए, कैलालीको टीकापुरस्थित आफ्नो घरमा थुनिएका प्रसिद्धले भने आफ्नो हृदयमा सल्किएको क्रिकेटको ज्वालालाई निभ्न दिएनन् । जब, अरूहरू सामान्य जीवन फर्कने पर्खाइमा समय बिताइरहेका थिए, प्रसिद्ध भने आफ्ना स–साना हातहरूमा ब्याट समातेर घण्टौँघण्टा पसिना बगाउँदै थिए । उनले घरकै सानो कुनामा आफ्नो प्रविधि, उत्कृष्ट फुटवर्क, सन्तुलन र कडा अनुशासनलाई अथक मिहिनेतले तिखारे । त्यो शान्त र एक्लो समय कुनै बाध्यता थिएन, उनको सपनालाई आकार दिने तप्त भट्टी थियो । जहाँ हरेक अभ्यास सत्रले उनलाई ठूलो उपलब्धि हासिल गर्ने दिशातर्फ एक–एक पाइला अगाडि बढाउँदै लगेको थियो । त्यही एकान्त साधनाको कठिन समयमा नै क्रिकेटप्रतिको उनको अदम्य लगाव देशको प्रतिनिधित्व गर्ने भव्य सपनामा परिणत भयो ।

महाव्याधिको प्रतिबन्ध खुकुलो हुनासाथ टीकापुर र भजनीका धुलाम्मे मैदानहरूमा उत्रिएका प्रसिद्धको ब्याटले नयाँ ऊर्जाका साथ बोल्न थाल्यो । मैदानमा खेलिएका हरेक खेलले उनलाई केवल परिपक्व ब्याटरमात्र बनाएन, उनको आकांक्षा र संकल्पलाई फलामजस्तै बलियो बनाउँदै लग्यो । तर, सपना जति विशाल हुन्छ, त्याग पनि त्यति नै ठूलो चाहिन्छ । मात्र १३ वर्षको कलिलो उमेरमा जब अरू बालबालिकाहरू आमाबाबुको सामीप्यतामा रमाउँछन्, प्रसिद्धले भने आफ्नो सपनालाई पच्छ्याउँदै घर र जन्मभूमि छाडेर अपरिचित काठमाडौं सहर छिर्ने आँटिलो निर्णय गरे । यो केवल सहर परिवर्तनमात्रै थिएन, यो त आँसु, त्याग, कडा परिश्रम र आफूप्रतिको अटुट विश्वासले भरिएको एउटा जोखिमपूर्ण यात्राको सुरुवात थियो । काठमाडौंको भीडमा उनको क्षमता र समर्पणले छिट्टै नै सबैको ध्यान खिच्यो । उनले डीएभी एकेडेमी स्कुलको प्रतिष्ठित ‘ट्यालेन्ट हन्ट प्रोग्राम’ मार्फत पूर्ण छात्रवृत्ति पाउन सफल भए । स्कुल स्तरीय क्रिकेटमा उनले छाडेको अमिट छाप र निरन्तरको उत्कृष्ट प्रदर्शन वर्षौँसम्म बगाएको पसिनाको जीवन्त प्रमाण बनेको थियो । प्रसिद्धको खेल कौशलबाट प्रभावित भएका स्कुलका क्रिकेट प्रशिक्षक पुरेन्द्रू घोषले पनि उनलाई तिखार्न कुनै कसर बाँकी राखेनन् ।

फलस्वरूप, सपना पूरा गर्ने कठोर यात्रामा प्रसिद्धको अद्भुत क्षमतालाई पहिचान गर्दै ‘क्रिकेट एक्सेललेन्स सेन्टर’ (सीईसी) बाट उनले दरिलो साथ पायो । उनीहरूको अतुलनीय मार्गदर्शन र निरन्तरको प्रोत्साहनले प्रसिद्धलाई एक ऊर्जावान् युवा क्रिकेटरका रूपमा आफूलाई निखार्ने स्वर्ण अवसरहरू प्रदान ग¥यो । दिनरातको अथक समर्पण, धैर्य र पसिनाको मीठो फल तब प्राप्त भयो, जब उनले नेपालको अन्डर–१६ राष्ट्रिय टोलीमा चयन भएर देशको प्रतिनिधित्व गर्ने गर्विलो अवसर प्राप्त ग¥यो । रातो र नीलो रंगको राष्ट्रिय जर्सी पहिरिएर मैदानमा ओर्लंदा उनको छाती गर्वले ढक्क फुलेको थियो, र त्यो क्षण उनको युवा खेल जीवनको सबैभन्दा ठूलो र अविस्मरणीय कोसेढुङ्गा बन्न पुग्यो ।

अहिले १६ वर्षको कलिलै उमेरका उनले लामो छलाङ मार्ने भरमग्दुर प्रयासलाई अझै गति दिएका छन् । उनको आँखामा अझ विशाल र चम्किला सपनाहरू तैरिरहेका छन् । यस सिजन काठमाण्डु गोर्खाजमा आबद्ध भएका प्रसिद्धको अबको सपना भनेको ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को विशाल मञ्चमा आफ्नो धमाकेदार छाप छोड्नु, देशका वरिष्ठ र उत्कृष्ट क्रिकेटरहरुसँग काँधमा काँध मिलाएर आफ्नो प्रतिभा प्रमाणित गर्नु र नेपालको सिनियर राष्ट्रिय टोलीको स्थायी सदस्य बन्नु हो । लकडाउनको समयमा घरको एउटा साँघुरो कुनामा एक्लै अभ्यास गर्ने एकजना सानो बालकदेखि देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडीसम्मको प्रसिद्धको यो यात्रा कुनै चमत्कार होइन । यो त दृढता, अनुशासन, असीम त्याग र अटुट आत्मविश्वासी मनको वृतान्त हो । उनले प्रहार गरेको प्रत्येक बलमा एउटा गहिरो उद्देश्य थियो, भोगेका प्रत्येक चुनौतीले उनलाई अझ दह्रो बनायो र प्रत्येक इनिङ्सले उनलाई त्यो विशाल सपनाको अझ नजिक पु¥याइरहेको छ, जुन सपनाको सानो मुना लकडाउनको त्रासमा चार भित्ताभित्र उम्रिएको थियो ।