काठमाडौं।
हरेक मानिसको छातीभित्र सफलताको एउटा सानो दियो बलिरहेको हुन्छ, तर त्यसलाई आकांक्षाको आँधीमा पनि निभ्न नदिई महान् प्रकाशमा बदल्ने साहसीहरू विरलै हुन्छन् । काँढाघारीजस्तै कठिन बाटोमा टेकेर सफलताको शिखर चुम्नु कुनै सहज यात्रा होइन । यसका पछाडि आर्थिक अभाव, भौगोलिक विकटता र सामाजिक चुनौतीका ठूला–ठूला पर्खालहरू उभिएका हुन्छन् । तर, जब मनभित्रैबाट एउटा अदम्य भोक र इमानदार प्रतिबद्धता पलाउँछ, तब परिस्थिति जतिसुकै प्रतिकूल भए पनि अड्चनहरू आफैँ पछाडि हट्न बाध्य हुन्छन् । प्रसिद्ध जैसीको यात्राको सुरुवात पनि कुनै सुविधा सम्पन्न भव्य रंगशालाबाट भएको थिएन । कोभिड–१९ को त्रासले भरिपूर्ण महाव्याधिका कारण पूरा संसार सुनसान र बन्द रहेको बेला चार भित्ताभित्रको एकान्तबाट भएको थियो ।
जतिबेला मानिसहरू निराशा र अन्योलको भुमरीमा थिए, क्रिकेट मैदानहरूमा ताला लागेका थिए, कैलालीको टीकापुरस्थित आफ्नो घरमा थुनिएका प्रसिद्धले भने आफ्नो हृदयमा सल्किएको क्रिकेटको ज्वालालाई निभ्न दिएनन् । जब, अरूहरू सामान्य जीवन फर्कने पर्खाइमा समय बिताइरहेका थिए, प्रसिद्ध भने आफ्ना स–साना हातहरूमा ब्याट समातेर घण्टौँघण्टा पसिना बगाउँदै थिए । उनले घरकै सानो कुनामा आफ्नो प्रविधि, उत्कृष्ट फुटवर्क, सन्तुलन र कडा अनुशासनलाई अथक मिहिनेतले तिखारे । त्यो शान्त र एक्लो समय कुनै बाध्यता थिएन, उनको सपनालाई आकार दिने तप्त भट्टी थियो । जहाँ हरेक अभ्यास सत्रले उनलाई ठूलो उपलब्धि हासिल गर्ने दिशातर्फ एक–एक पाइला अगाडि बढाउँदै लगेको थियो । त्यही एकान्त साधनाको कठिन समयमा नै क्रिकेटप्रतिको उनको अदम्य लगाव देशको प्रतिनिधित्व गर्ने भव्य सपनामा परिणत भयो ।

महाव्याधिको प्रतिबन्ध खुकुलो हुनासाथ टीकापुर र भजनीका धुलाम्मे मैदानहरूमा उत्रिएका प्रसिद्धको ब्याटले नयाँ ऊर्जाका साथ बोल्न थाल्यो । मैदानमा खेलिएका हरेक खेलले उनलाई केवल परिपक्व ब्याटरमात्र बनाएन, उनको आकांक्षा र संकल्पलाई फलामजस्तै बलियो बनाउँदै लग्यो । तर, सपना जति विशाल हुन्छ, त्याग पनि त्यति नै ठूलो चाहिन्छ । मात्र १३ वर्षको कलिलो उमेरमा जब अरू बालबालिकाहरू आमाबाबुको सामीप्यतामा रमाउँछन्, प्रसिद्धले भने आफ्नो सपनालाई पच्छ्याउँदै घर र जन्मभूमि छाडेर अपरिचित काठमाडौं सहर छिर्ने आँटिलो निर्णय गरे । यो केवल सहर परिवर्तनमात्रै थिएन, यो त आँसु, त्याग, कडा परिश्रम र आफूप्रतिको अटुट विश्वासले भरिएको एउटा जोखिमपूर्ण यात्राको सुरुवात थियो । काठमाडौंको भीडमा उनको क्षमता र समर्पणले छिट्टै नै सबैको ध्यान खिच्यो । उनले डीएभी एकेडेमी स्कुलको प्रतिष्ठित ‘ट्यालेन्ट हन्ट प्रोग्राम’ मार्फत पूर्ण छात्रवृत्ति पाउन सफल भए । स्कुल स्तरीय क्रिकेटमा उनले छाडेको अमिट छाप र निरन्तरको उत्कृष्ट प्रदर्शन वर्षौँसम्म बगाएको पसिनाको जीवन्त प्रमाण बनेको थियो । प्रसिद्धको खेल कौशलबाट प्रभावित भएका स्कुलका क्रिकेट प्रशिक्षक पुरेन्द्रू घोषले पनि उनलाई तिखार्न कुनै कसर बाँकी राखेनन् ।
फलस्वरूप, सपना पूरा गर्ने कठोर यात्रामा प्रसिद्धको अद्भुत क्षमतालाई पहिचान गर्दै ‘क्रिकेट एक्सेललेन्स सेन्टर’ (सीईसी) बाट उनले दरिलो साथ पायो । उनीहरूको अतुलनीय मार्गदर्शन र निरन्तरको प्रोत्साहनले प्रसिद्धलाई एक ऊर्जावान् युवा क्रिकेटरका रूपमा आफूलाई निखार्ने स्वर्ण अवसरहरू प्रदान ग¥यो । दिनरातको अथक समर्पण, धैर्य र पसिनाको मीठो फल तब प्राप्त भयो, जब उनले नेपालको अन्डर–१६ राष्ट्रिय टोलीमा चयन भएर देशको प्रतिनिधित्व गर्ने गर्विलो अवसर प्राप्त ग¥यो । रातो र नीलो रंगको राष्ट्रिय जर्सी पहिरिएर मैदानमा ओर्लंदा उनको छाती गर्वले ढक्क फुलेको थियो, र त्यो क्षण उनको युवा खेल जीवनको सबैभन्दा ठूलो र अविस्मरणीय कोसेढुङ्गा बन्न पुग्यो ।

अहिले १६ वर्षको कलिलै उमेरका उनले लामो छलाङ मार्ने भरमग्दुर प्रयासलाई अझै गति दिएका छन् । उनको आँखामा अझ विशाल र चम्किला सपनाहरू तैरिरहेका छन् । यस सिजन काठमाण्डु गोर्खाजमा आबद्ध भएका प्रसिद्धको अबको सपना भनेको ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को विशाल मञ्चमा आफ्नो धमाकेदार छाप छोड्नु, देशका वरिष्ठ र उत्कृष्ट क्रिकेटरहरुसँग काँधमा काँध मिलाएर आफ्नो प्रतिभा प्रमाणित गर्नु र नेपालको सिनियर राष्ट्रिय टोलीको स्थायी सदस्य बन्नु हो । लकडाउनको समयमा घरको एउटा साँघुरो कुनामा एक्लै अभ्यास गर्ने एकजना सानो बालकदेखि देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडीसम्मको प्रसिद्धको यो यात्रा कुनै चमत्कार होइन । यो त दृढता, अनुशासन, असीम त्याग र अटुट आत्मविश्वासी मनको वृतान्त हो । उनले प्रहार गरेको प्रत्येक बलमा एउटा गहिरो उद्देश्य थियो, भोगेका प्रत्येक चुनौतीले उनलाई अझ दह्रो बनायो र प्रत्येक इनिङ्सले उनलाई त्यो विशाल सपनाको अझ नजिक पु¥याइरहेको छ, जुन सपनाको सानो मुना लकडाउनको त्रासमा चार भित्ताभित्र उम्रिएको थियो ।











प्रतिक्रिया