अनौठो स्वरूपको र्याकुन इन्टरनेटमा भाइरल, दुर्लभ अवस्थाले तान्यो विश्वको ध्यान


काठमाडौं ।

अमेरिकाको सियाटल शहरमा देखिएको अनौठो स्वरूपको एक र्याकुन (रेक्कुन) अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। ‘जिमोथी’ नाम दिइएको उक्त र्याकुनको सानो, गोलाकार शरीर र असामान्य हिँडाइका कारण लाखौं मानिसको ध्यान तानेको हो।

जिमोथीलाई पहिलो पटक सियाटलको बालार्ड क्षेत्रमा स्थानीय बासिन्दा कियाना हलले देखेकी थिइन्। उनले र्याकुनको छोटो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि केही दिनमै लाखौं पटक हेरिएको थियो। त्यसयता विभिन्न व्यक्तिले पनि जिमोथीका भिडियो र तस्बिरहरू साझा गर्दै आएका छन्।वन्यजन्तु विशेषज्ञहरूका अनुसार जिमोथीमा ‘सर्ट स्पाइन सिन्ड्रोम’भनिने अत्यन्त दुर्लभ जन्मजात अवस्था हुन सक्ने अनुमान गरिएको छ। यस अवस्थाका कारण मेरुदण्ड सामान्यभन्दा छोटो हुने भएकाले शरीर गोलाकार र घाँटी निकै छोटो देखिन्छ। यद्यपि औपचारिक स्वास्थ्य परीक्षण नभएकाले यसको निश्चित पुष्टि भने भएको छैन।

विशेषज्ञहरूले भने जिमोथी आफ्नो शारीरिक अवस्थाका बाबजुद सामान्य रूपमा दौडिन, खाना खोज्न र जंगलबाहिरको वातावरणमा बाँच्न सक्षम देखिएको बताएका छन्। त्यसैले मानिसहरूलाई र्याकुनलाई समात्ने वा नजिक जाने प्रयास नगरी प्राकृतिक बासस्थानमै स्वतन्त्र रूपमा बाँच्न दिन आग्रह गरिएको छ। जिमोथीको लोकप्रियता यति बढेको छ कि सियाटलमा उसको नाममा भित्तेचित्र बनाइएको छ, प्रशंसकहरूले कला, स्टिकर र मीमहरू बनाएका छन्, साथै स्थानीय समुदायले ‘जिमोथी समर’ मनाउने घोषणा गर्ने तयारीसमेत गरेको छ।