युरोमनी अवार्ड्स २०२६ मा नबिल बैंकलाई तीन अन्तर्राष्ट्रिय सम्मान


काठमाडौं ।

नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स २०२६ अन्तर्गत तीन विधामा सम्मान प्राप्त गरेको छ। बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि जितेको हो।

बैंकले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यी अवार्डले नबिल बैंकको सुदृढ वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) क्षेत्रमा गरेको योगदानका साथै साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धनमा खेलेको भूमिकाको अन्तर्राष्ट्रिय स्तरमा मूल्यांकन गरेका छन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले यी सम्मानले ग्राहक, कर्मचारी, शेयरधनी र साझेदारले बैंकमाथि गरेको विश्वासलाई प्रतिबिम्बित गरेको बताए।

उनका अनुसार ईएसजी र एसएमईजस्ता विधामा प्राप्त सम्मानले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गरे।

युरोमनी अवार्ड्स फर एक्सिलेन्सलाई विश्व बैंकिङ क्षेत्रकै प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ। यसले नवप्रवर्तन, नेतृत्व क्षमता र उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न देशका वित्तीय संस्थालाई सम्मान प्रदान गर्दै आएको छ।

बैंकका अनुसार ‘नेपाल्स बेस्ट बैंक’ उपाधिले नबिलको वित्तीय सुदृढता, ग्राहक केन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व र समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको हो।

त्यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण, सामाजिक उत्तरदायित्व तथा जिम्मेवार बैंकिङ अभ्यासमा बैंकले गरेको योगदानलाई सम्मान गरेको जनाएको छ।

यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमका लागि वित्तीय सेवा, विशेष कर्जा योजना तथा परामर्शमूलक सेवामार्फत उद्यमशीलता र आर्थिक गतिविधि प्रवर्द्धनमा बैंकले खेलेको भूमिकालाई कदर गरेको बैंकले जनाएको छ।

नबिल बैंकले हाल देशभर २६४ शाखा, ३१५ एटीएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत डिजिटल, समावेशी र दिगो बैंकिङलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको जनाएको छ।