एनआईसी एशिया क्यापिटलको नयाँ योजना: निःशुल्क डिम्याट र मेरो सेयर सेवा, आजीवन नवीकरणमा विशेष छुट


काठमाडौं ।

एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि निक्षेप सदस्य (डिम्याट) सेवाअन्तर्गत निःशुल्क डिम्याट तथा मेरो सेयर खाता सेवा र विभिन्न विशेष छुट योजना सार्वजनिक गरेको छ।

क्यापिटलले जारी गरेको विज्ञप्तिअनुसार विगतदेखि सञ्चालन गर्दै आएको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि नयाँ ग्राहकका लागि डिम्याट खाता निःशुल्क खोल्ने र पहिलो वर्षको नवीकरण शुल्कमा पूर्ण छुट दिने व्यवस्था गरिएको छ।

विद्यार्थीलाई धितोपत्र बजारप्रति आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘एनआईसी एशिया विद्यार्थी डिम्याट सेवा’ अन्तर्गत निःशुल्क डिम्याट खाता, पहिलो वर्षको नवीकरण शुल्कमा छुट तथा निःशुल्क मेरो सेयर दर्ता (रजिस्ट्रेसन) सुविधा उपलब्ध गराइने क्यापिटलले जनाएको छ।

त्यस्तै, नयाँ तथा विद्यमान हितग्राही खातावालाले एकमुष्ट रु. ९९९ तिरेर डिम्याट खाताको आजीवन नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी रु. १,००० एकमुष्ट भुक्तानी गर्दा मेरो सेयर खाताको पनि आजीवन नवीकरण सुविधा प्राप्त हुने जनाइएको छ। यो योजना २०८३ साल श्रावण मसान्तसम्म लागू रहनेछ।

एनआईसी एशिया बैंकका शाखामार्फत डिम्याट खाता खोल्ने ग्राहकलाई पनि निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्ने र पहिलो वर्षको डिम्याट नवीकरण शुल्कमा छुट दिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार डिम्याट तथा मेरो सेयर सम्बन्धी अधिकांश सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध छन्। ग्राहकले क्यापिटलको वेबसाइटमार्फत अनलाइनमै निःशुल्क डिम्याट र मेरो सेयर खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ।

सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले क्यापिटलका मोबाइल नम्बर ९८४७३४५०९९ र ९८४८८६५२२३ मा सम्पर्क गर्न सक्ने जनाइएको छ।