काठमाडौं ।
अस्ट्रेलियाकी एक महिलाले कुनै पनि प्रजनन प्रविधि वा आईभीएफको प्रयोग नगरी प्राकृतिक रूपमा उस्तै स्वरूपका चार छोरी (आइडेन्टिकल क्वाड्रुप्लेट्स) जन्माएकी छन्। चिकित्सकहरूले यसलाई अत्यन्त दुर्लभ र चिकित्सा विज्ञानकै अनौठो घटनामध्ये एक मानेका छन्।
रोयल ब्रिसबेन एन्ड वुमेन्स अस्पतालका अनुसार ३४ वर्षीया जेनिटर ना’अमोआनाले गत जुलाई १४ मा २८ हप्ता ४ दिनको गर्भावस्थामा शल्यक्रियामार्फत चार छोरीलाई जन्म दिएकी हुन्।
यी चारै शिशु एउटै निषेचित अण्डा चार भागमा विभाजित भएर विकसित भएका ‘मोनोजाइगोटिक क्वाड्रुप्लेट्स’ हुन्। मातृ–शिशु चिकित्सा विशेषज्ञ डा. अलेक्सा बेन्डालका अनुसार यस्तो घटना करिब १ करोड ५० लाख गर्भधारणमध्ये एक पटक मात्र हुने सम्भावना रहन्छ। अझ चारै शिशुले एउटै प्लेसेन्टा (पाठेघरको साल) साझा गर्नु झन् दुर्लभ अवस्था हो।
उच्च जोखिमका कारण जेनिटरलाई २५ हप्ताको गर्भदेखि नै अस्पतालमा भर्ना गरेर निरन्तर निगरानीमा राखिएको थियो। चिकित्सकहरूले कम्तीमा २८ हप्तासम्म गर्भ सुरक्षित राख्ने लक्ष्य राखेका थिए। अन्ततः २८ हप्ता ४ दिनमा चारै शिशुको सुरक्षित जन्म भएपछि चिकित्सकहरूले यसलाई ठूलो सफलता र चमत्कारिक उपलब्धि बताएका छन्।
नवजात छोरीहरूको नाम एमिली, ह्यारियट, क्याथरिन र अलेक्सा राखिएको छ। तीमध्ये एक शिशुको नाम उनको उपचारमा संलग्न डा. अलेक्सा बेन्डालको सम्मानमा राखिएको परिवारले जनाएको छ। हाल चारै शिशुलाई नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा राखिएको छ र उनीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ।
जेनिटर र उनका पति जोर्थमका यसअघि नै १ देखि १० वर्ष उमेर समूहका चार सन्तान छन्। नयाँ चार छोरीको जन्मसँगै परिवारका सदस्यको संख्या १० पुगेको छ। ठूलो परिवारको व्यवस्थापनका लागि उनीहरूले १० सिट क्षमताको भ्यान खरिद गर्ने योजना बनाएका छन् भने शिशुहरूको पालनपोषणका लागि अनलाइन सहयोग अभियान पनि सञ्चालन गरेका छन्।
परिवारले सार्वजनिक गरेको सहयोग अभियानमार्फत हालसम्म ८८ हजार अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको छ। चिकित्सकहरूका अनुसार कुनै पनि प्रजनन उपचारको सहारा नलिई प्राकृतिक रूपमा उस्तै स्वरूपका चार शिशुको जन्म हुनु विश्वमै अत्यन्त दुर्लभ र उल्लेखनीय घटना हो।











प्रतिक्रिया