नाटक केसामी–नाम्सामीको पोस्टर सार्वजनिक, साउन १८ देखि मञ्चन


काठमाडौं ।

एक थिएटर नेपालले आफ्नो नयाँ नाटक केसामी–नाम्सामीको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। नाटक साउन १८ गतेदेखि भदौ १३ गतेसम्म (बुधबार बाहेक) नियमित रूपमा मञ्चन हुनेछ।

अनिल सुब्बाको निर्देशन रहेको यस नाटकको नाट्य रूपान्तरण यासेली योङ्हाङले गरेका हुन्। निर्माण टोलीका अनुसार पुस्तौँदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृतिलाई आधुनिक रंगभाषामार्फत दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले नाटक तयार गरिएको हो।

निर्देशक सुब्बाका अनुसार केसामी–नाम्सामीले परम्परा र वर्तमानबीच अर्थपूर्ण संवाद स्थापित गर्दै मौलिक संस्कृति, इतिहास, प्रकृतिसँगको सम्बन्ध, मानवीय संवेदना तथा पहिचानका विविध आयामलाई रंगमञ्चमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।

उनले नेपाली संस्कृति र सभ्यतालाई नयाँ दृष्टिकोणबाट अनुभूति गर्न चाहने दर्शकका लागि यो नाटक विशेष हुने विश्वास व्यक्त गरेका छन्।