त्रिविको वार्षिक दिवसमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ, आन्दोलनको चेतावनीपछि सबै रिहा


काठमाडौँ ।

 त्रिभुवन विश्वविद्यालयको वार्षिकदिवस कार्यक्रम स्थलबाहिर सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शनगर्ने आधा दर्जन विद्यार्थीलाई पक्राउ गरेको ५ घण्टामा छाडेको छ । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनले पक्राउ गरेका विद्यार्थी तत्काल रिहाइको माग गरेको थियो । लगत्तै विद्यार्थी नेता छुटेका हुन  । 

वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गएका स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रमस्थलमा प्रवेश गर्नबाट रोकेपछि विद्यार्थीनेताले मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । 

त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले पक्रउ परेका सबै विद्यार्थी रिहा गर्न माग गरेका थिए। प्रहरीले विद्यार्थीनेतालाई दमनात्मक व्यवहार गर्दै पक्राउ गर्ने कार्यप्रति स्ववियुले आपत्ति जनाएको थियो।

 विश्वविद्यालयको प्रमुख सरोकारवाला पक्ष विद्यार्थी नै हुन । त्यस्ता विद्यार्थी प्रतिनिधिहरूलाई आफ्नै विश्वविद्यालयको वार्षिक कार्यक्रममा प्रवेश गर्नबाट वञ्चित गर्नु लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी सहभागितामाथिको प्रत्यक्ष हस्तक्षेप हो ।

‘स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिहरूले उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयले माग गरेअनुसार पर्याप्त बजेट विनियोजन नगरिएको, सरकारले विद्यार्थीहरूसँग संवाद गर्न नचाहेको, विश्वविद्यालयको नीति तथा कार्यक्रम समयमै आउन नसकेकोले, यथाशीघ्र त्रिभुवन विश्वविद्यालय सभा बैठक आह्वान गर्नुपर्ने तथा विश्वविद्यालय सुधारसँग सम्बन्धित विषयहरू सम्मानपूर्वक भेटघाटमार्फत राख्न खोजेका थिए । तर, संवादको वातावरण सिर्जना गर्नुको सट्टा विद्यार्थी प्रतिनिधिहरूमाथि निषेध र दमन गर्नु अत्यन्त दुःखद र निन्दनीय कार्य हो–स्ववियु अध्यक्ष जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा मेरिटोक्रेसी पूर्णरूपमा कार्यान्वयन हुने विषयमा सरकारका जिम्मेवार पक्षबाट नै परस्पर विरोधाभासी अभिव्यक्ति आइरहनुले सरकारको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको आरोप छ । विश्वविद्यालयको स्वायत्तता सुदृढ गर्न तथा कुलपति प्रधानमन्त्री हुने व्यवस्थाको अन्त्य गर्न बौद्धिक तथा वैचारिक क्षेत्रबाट उठिरहेका आवाजलाई सरकारले निरन्तर बेवास्ता गरिरहेको जनाएको छ । 

स्ववियुको विज्ञप्ति जारी गरी आन्दोलनको चेतावनी दिए लगत्तै सबैलाई रिहा गरेको थियो । प्रहरीले  स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति सनम ओली, सचिव हिक्मत कुमार बुढा, सदस्यहरू डम्मर सिंह ऐडी, कुलबहादुर बुढा, तेजप्रकाश सञ्ज्याल तथा विद्यार्थी दिनेश रेग्मी लाई रिहा गरेको थियो