बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ


काठमाडौं ।

बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र–जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–७ निवासी रिमाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौं महानगरपालिका–७ सिफलबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार पक्राउ परेका रिमाललाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको छ।

उक्त मुद्दामा बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा उनीविरुद्ध अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।