इरानको विद्यालयमा अमेरिकी आक्रमणको पीडा अझै ताजा : १२० बालबालिकासहित १५६ जनाको मृत्यु, सत्य बाहिर आउन बाँकी

0
Shares

काठमाडौं ।

अमेरिका–इजरायल र इरानबीच भएको युद्धको सबैभन्दा दर्दनाक घटनामध्ये एक मानिएको दक्षिणी इरानको मिनाबस्थित एक प्राथमिक विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणको पीडा अझै मेटिएको छैन। घटनामा १२० बालबालिकासहित १५६ जनाको ज्यान गएको पुष्टि भएको छ।

बीबीसीले घटनास्थल पुगेर तयार पारेको विशेष रिपोर्टअनुसार २८ फेब्रुअरीमा युद्ध सुरु भएको केही घण्टामै मिनाबस्थित शजारेह तय्येबेह प्राथमिक विद्यालयमा क्षेप्यास्त्र प्रहार भएको थियो। मिनाब सरकारी वकिलको कार्यालयका अनुसार मृतकमध्ये एक गर्भवती महिला र उनको गर्भस्थ शिशुसमेत रहेका छन्। विद्यालयमा छ वर्षदेखि अध्यापन गर्दै आएकी ३३ वर्षीया शिक्षिका अमिनेह नादेमीले घटनाको स्मरण गर्दै भनिन्, “क्षेप्यास्त्र लाग्नेबित्तिकै हामी सबै हावामा उछिट्टियौं।

चारैतिर धुवाँ, रगत र चिच्याहट मात्रै थियो।” उनका अनुसार रमजानका कारण विद्यार्थीहरूले कुरान पाठ गरिरहेका बेला युद्ध सुरु भएको खबर आएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो। अधिकांश अभिभावक आफ्ना छोराछोरी लिन आइरहेका बेला दोस्रो विस्फोटले विद्यालय ध्वस्त भएको थियो। घटनामा विद्यालयका प्रधानाध्यापक, उपप्रधानाध्यापक, खेल शिक्षक, कुरान शिक्षक तथा दर्जनौं विद्यार्थीको मृत्यु भएको थियो। उद्धारमा संलग्न इरानी रेड क्रिसेन्टका स्वयंसेवक रेजा बेशारतीले भग्नावशेषबाट अधिकांश शव विकृत अवस्थामा फेला परेको बताए। “कतै हात मात्रै थियो, कतै खुट्टा मात्रै।

धेरै अभिभावकले आफ्ना छोराछोरीलाई जुत्ता वा कपडाबाट मात्र चिन्ने अवस्था थियो,” उनले भने। बीबीसीको अनुसन्धान र उपग्रह तस्बिरहरूको विश्लेषणले विद्यालयसँगै रहेको इरानी रिभोलुसनरी गार्ड (IRGC) को परिसर पनि आक्रमणमा परेको देखाएको छ। विज्ञहरूका अनुसार विद्यालयमा अमेरिकी टोमाहक क्रुज मिसाइल प्रयोग भएको सम्भावना बलियो देखिएको छ। यद्यपि अमेरिकाले विद्यालयमा आक्रमण गरेको औपचारिक रूपमा स्वीकार गरेको छैन। अमेरिकी सञ्चारमाध्यमहरूले भने प्रारम्भिक सैन्य अनुसन्धानमा पुरानो गुप्तचर सूचनाका कारण विद्यालयलाई सैन्य क्षेत्रको हिस्सा ठानिएको हुन सक्ने उल्लेख गरेका छन्।

अमेरिकी रक्षा मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको भए पनि हालसम्म आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छैन। घटनामा नौ वर्षीया छोरी सेतायेश गुमाएकी मसुमेह मेहरान शेखाबादीले छोरीको शव मोजाबाट मात्रै पहिचान गर्नुपरेको पीडा सुनाइन्। “मेरो छोरी शिक्षक बन्न चाहन्थी।

उसले हतियार होइन, कापी, किताब र विद्यालयको झोला बोकेकी थिई। उनीहरू पढ्न गएका थिए, मर्न होइन,” उनले भावुक हुँदै भनिन्। यस घटनाले इरानमा युद्धको मानवीय क्षति र नागरिक सुरक्षाबारे नयाँ बहस सुरु गराएको छ। इरानी सरकारले पनि मिनाब घटनालाई अन्तर्राष्ट्रिय मञ्चमा बारम्बार उठाउँदै नागरिकमाथि भएको आक्रमणको उदाहरणका रूपमा प्रस्तुत गरिरहेको छ।

उनी बीबीसीकी वरिष्ठ अन्तर्राष्ट्रिय अनुसन्धान संवाददाताको रुपमा कार्यरत छिन ।