काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धानले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीकी श्रीमती सुफल केसी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा संलग्न रहेको भन्दै त्यसमा अनुसन्धान गर्न नेपाली सेनालाई पत्राचार गरेको छ । श्रीमती केसी नेपाली सेनाका प्राविधिक सहसेनानी हुनुहुन्छ ।
अख्तियारले अधिकारीविरुद्ध मङ्गलवार विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी अलग अलग मुद्दा दायर गरेको थियो। त्यसमा अधिकारी महानिर्देशक हुँदा प्राधिकरणको ठेक्का स्वीकृत गर्ने, सञ्चालनमा सहजीकरण गरेवापत लिएको १ करोड ७१ लाख रुपैयाँ घुस लिएको थियो । त्यो रकम गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाल समेतबाट लिएको अख्तियारको अनुसन्धानले देखाएको प्रवक्ता सुरेश न्यौपानले बताउनुभयो।
सो रकमको गैरकानुनी स्रोत लुकाउन अधिकारीले श्रीमती केसीको नाउँमा ललितपुरको साविकको नगर ५ ‘क्ष’ स्थित कित्ता नं २२४ को १३ आना जग्गा खरिद गर्नुभएको थियो । जग्गा किन्न श्रीमतीको खाता प्रयोग गरेको देखिएकाले अख्तियारले केसीमाथि छानबिन गर्नु भनी पत्राचार गरेको बुझिएको छ । ‘प्रचलित संवैधानिक तथा कानुनी व्यवस्थाको रोहवरमा आवश्यक अनुसन्धान कार्य गर्न उपयुक्त देखिएकाले निज सहसेनानी सुफल केसीको हकमा नेपाल सरकार रक्षा मन्त्रालय तथा नेपाली सेना जंगी अड्डामा आवश्यक अनुसन्धान कारबाही गर्न लेखी पठाउने भनी निर्णय भएको व्यहोरा अनुरोध छ’ –अख्तियारको निर्णयमा भनिएको छ ।
अख्तियारले विशेष अदालतमा दायर अभियोग पत्रमा श्रीमती केसीको नाउँ उल्लेख गरिएको छैन । साथै केसीलाई सम्पत्ति जफत प्रयोजनका लागि पनि प्रतिवादी बनाइएको पनि छैन । अख्तियारले मुद्दा दायर गर्दा घुस लिने अधिकारीलाई १ करोड ७१ लाख बिगो जरिवाना कायम गरी श्रीमतीको नाउँमा किनेको जग्गाबाट बिगो जफत गर्न मागदाबी लिइएको छ । अख्तियारका अनुसार केसी नेपाली सेनाका प्राविधिक सहसेनानी भएकाले प्रतिवादी नबनाएको हो।सेनाको विषयमा छानबिन गर्ने अख्तियारको क्षेत्राधिकार भित्र पर्दैैन ।
सो जग्गा खरिद गर्दा राजिनामा लिखतमा ९१ लाख कायम गरी वास्तविक कारोबारको रकम लुकाएको अख्तियारले जनाएको छ । त्यो रकमको स्रोत र कारोबारसमेत वैधानिक र स्वभाविक देखाउन अधिकारीले सरकारी रकम ९१ लाख रुपैयाँ आफँ र श्रीमतीको बैंक खाताहरूबाट कारोबार गरेको देखाएका थिए । त्यो रकमभन्दा बाहेक घुसवापत लिएको १ करोड ७१ लाख रुपैयाँ रकम उनले बैंक खातामा दाखिला गरेको देखिएको छ ।
कुमारी बैंकको मँल्याङ्कनकर्ताले अधिकारीले खरिद गरेको जग्गाको ३ करोड ३४ लाख रुपैंया मँल्याङ्कन गरेको थियो। त्यसक्रममा ७५ लाख रुपैंया मात्रै कारोबार देखिएको भन्दै अख्तियारले बाँकी रकम सम्पत्ति शुद्धीकरणमा हिसाबकिताब गरी राफसाफ भएको दाबी गरेको हो ।
अख्तियारले मुद्दा दायर गर्दा गायत्री निर्माण सेवा र त्यसका प्रमुख ढकाल विरुद्धलाई पनि प्रतिवादी बनाएको छ ।
अधिकारी विरुद्ध दर्ता भएको यो तेस्रो मुद्दा हो । त्यसमा भ्रष्टाचार कसुर र सजायसम्बन्धी व्यवस्थाअन्तर्गत थप सजायको पनि माग दाबी गरिएको छ । त्यसमा सम्पत्ति शद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को देहायको (क), (ख) र (ग) र उपदफा (३) ले परिभाषित गरेको कसुर गरेका अख्तियारले जनाएको छ ।
प्रवक्ता न्यौपानेले भन्नुभयो– ‘अधिकारीले घुसबाट आर्जित कसुरजन्य सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी गराई सम्पत्ति शुद्धीकरणअन्तर्गतको कसुरसमेत गरेको पुष्टि भएको छ ।’ अधिकारी दुवै कसुरमा संलग्न भएको अनुसन्धानले देखाउँछ । एउटा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर र अर्को सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर हो ।’
सम्पत्ति शुद्धीकरण निवारण ऐनको सो दफामा गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने, त्यसको स्वामित्व परिवर्तन गर्ने, र त्यस्तो सम्पत्ति प्राप्त गर्नेलाई कसुर मानिने उल्लेख गरिएको छ ।











प्रतिक्रिया