विपद् तयारीमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री शाहको निर्देशन


काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले विभागीय मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई विपद्को समयमा तत्काल परिचालन हुने गरी तयारी अवस्थामा रहन आग्रह गरे ।

उनले सम्भावित जोखिम क्षेत्रको पहिचान गरी समयमै सूचना प्रवाह, उद्धार तथा राहतका कार्यक्रम तयार राख्न निर्देशन दिए । विपद् व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, साझेदार संस्था, निजी क्षेत्र र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहले आपतकालीन अवस्थामा प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा खटिन कमाण्ड पोस्टलाई सक्रिय बनाउन समेत निर्देशन दिए ।