काठमाडौं
केहि समय अघि सार्वजनिक भएको अभिव्यक्तिलाई लिएर विवादमा परेकी गायिका इब्शल सन्ज्यालले अन्ततः सार्वजनिक रूपमा माफी मागेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्पष्टीकरण जारी गर्दै उनले आफ्नो भनाइका कारण अछामवासीको आत्मसम्मान र भावनामा चोट पुगेको भए त्यसप्रति क्षमायाचना गरेकी हुन्।
केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले अमेरिकामा बस्ने अछामी परिवारमा पनि महिनावारी भएका महिलालाई घरबाहिर छुट्टै कोठामा राख्ने गरिएको भन्ने दाबी गरेकी थिइन्। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो।
स्पष्टीकरणमा सन्ज्यालले आफू कहिल्यै अमेरिका नगएको र त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी नभएको स्वीकार गरेकी छन्। उनले महिनावारी स्वास्थ्य र चेतनासम्बन्धी सामग्री सार्वजनिक गरेपछि अमेरिकामा रहेका एक शुभचिन्तकले सुनाएको घटनालाई अन्तर्वार्तामा उल्लेख गरेको बताइन्।उनका अनुसार, उक्त जानकारी आफूले सुनेको आधारमा साझा गरेकी थिइन् र अछामको प्रतिष्ठामा आँच पुर्याउने वा कुनै समुदायलाई होच्याउने उद्देश्य आफ्नो नरहेको स्पष्ट पारेकी छन्। साथै, हाल ती शुभचिन्तकसँग सम्पर्क हुन नसकेकाले उक्त दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको पनि उनले स्वीकार गरेकी छन्।
सन्ज्यालले आफू सानैदेखि छाउपडी प्रथाविरुद्धको अभियानमा सक्रिय रहेको उल्लेख गर्दै आफ्नो उद्देश्य महिलाले महिनावारीका बेला सुरक्षित, सम्मानजनक र सफा वातावरणमा घरभित्रै बस्न पाउनुपर्ने पक्षमा आवाज उठाउनु रहेको बताएकी छन्। छाउगोठमा बस्नुपर्ने बाध्यताका कारण महिलाले विभिन्न स्वास्थ्य तथा सुरक्षासम्बन्धी जोखिम सामना गर्नुपर्ने भएकाले त्यसको अन्त्य हुनुपर्ने उनको धारणा छ।अन्त्यमा उनले आफ्नो अभिव्यक्तिबाट कुनै पनि व्यक्ति वा समुदायको भावना आहत भएको भए त्यसप्रति पुनः क्षमा माग्दै आगामी दिनमा अझ जिम्मेवार भएर सार्वजनिक अभिव्यक्ति दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।











प्रतिक्रिया