काठमाडौं ।
हिन्दी चलचित्र उद्योगकी चर्चित अभिनेत्री नीतु कपूर आज आफ्नो ६८औँ जन्मदिन मनाइरहेकी छन्। बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी उनी बलिउडकी सफल अभिनेत्रीमध्ये एक हुन्। तर उनको जीवन केवल स्टारडममा सीमित छैन। संघर्ष, प्रेम, त्याग र पुनरागमनले भरिएको उनको जीवन धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
सन् १९५८ जुलाई ८ मा दिल्लीमा जन्मिएकी नीतु कपूरको वास्तविक नाम हरमीत कौर हो। उनी जन्मिएपछि परिवार मुम्बई बसाइँ सरेको थियो। बाल्यकालमै बुबाको निधन भएपछि परिवार आर्थिक संकटमा पर्यो। घरको अवस्था कमजोर बन्दै गएपछि उनकी आमा राजी कौरले फिल्ममा काम गर्ने प्रयास गरिन्, तर सफल हुन सकिनन्। त्यसपछि उनले आफ्नो सपना छोरीमार्फत पूरा गर्ने निर्णय गरिन्।
केवल आठ वर्षको उमेरमा नीतुले ‘बेबी सोनिया’ नामबाट फिल्मी यात्रा सुरु गरिन्। सन् १९६६ मा ‘सूरज’ फिल्ममार्फत बाल कलाकारका रूपमा डेब्यु गरेकी उनले त्यसपछि ‘दस लाख’, ‘दो कलियाँ’, ‘दो दूनी चार’ र ‘वारिस’जस्ता चलचित्रमा अभिनय गर्दै दर्शकमाझ लोकप्रियता कमाइन्।
मुख्य अभिनेत्रीका रूपमा भने उनले सन् १९७३ मा प्रदर्शन भएको ‘रिक्शावाला’बाट पहिचान बनाइन्। त्यसपछि ‘दीवार’, ‘खेल खेल में’, ‘रफू चक्कर’, ‘कभी कभी’, ‘अमर अकबर एन्थोनी’, ‘धरम वीर’, ‘कस्मे वादे’ र ‘याराना’जस्ता सफल फिल्ममा अभिनय गर्दै उनी बलिउडकी व्यस्त र सफल अभिनेत्री बनिन्।
नीतु कपूर र ऋषि कपूरको पहिलो भेट सन् १९७४ मा ‘जहरीला इन्सान’को छायांकनका क्रममा भएको थियो। सुरुआतमा सामान्य विवाद र ठट्टाबाट सुरु भएको सम्बन्ध समयसँगै प्रेममा बदलियो। दुवैले धेरै फिल्ममा सँगै अभिनय गरे र उनीहरूको जोडी दर्शकमाझ अत्यन्त लोकप्रिय बन्यो।
मिडिया रिपोर्टका अनुसार जब नीतुको प्रेम सम्बन्धबारे उनकी आमालाई थाहा भयो, उनी निकै रिसाएकी थिइन्। करिअर र उमेरको चिन्ताले आमाले उनलाई थप्पडसमेत हानेकी थिइन्। तर पछि दुवै परिवारले सम्बन्ध स्वीकार गरे र विवाहको बाटो खुल्यो।
सन् १९८० जनवरी २२ मा नीतु र ऋषि कपूर विवाह बन्धनमा बाँधिए। बलिउडकै चर्चित विवाहमध्ये एक मानिने उक्त समारोहमा दुवै जना अत्यधिक थकानका कारण केही समयका लागि बेहोस भएको घटना आज पनि चर्चामा आउने गर्छ। नीतुको भारी लहँगा र लगातारका विवाह संस्कार तथा ऋषिमाथिको भीड र तनावका कारण यस्तो अवस्था आएको बताइएको थियो।
विवाहपछि नीतुले परिवारलाई प्राथमिकता दिँदै फिल्मबाट लगभग दूरी बनाइन्। उनले छोरा रणबीर कपूर र छोरी रिद्धिमा कपूर साहनीको पालनपोषणमा आफ्नो अधिकांश समय खर्चिइन्। परिवारका लागि उनले धेरै ठूला फिल्मका प्रस्तावसमेत अस्वीकार गरेकी थिइन्।
करिब २६ वर्षपछि नीतुले फेरि अभिनयमा पुनरागमन गरिन्। सन् २००९ मा ‘लभ आज कल’मा छोटो भूमिकापछि सन् २०१० मा ऋषि कपूरसँग ‘दो दूनी चार’मा अभिनय गर्दै दर्शकको मन जितिन्। त्यसपछि ‘बेशरम’, ‘जुग जुग जियो’लगायतका फिल्ममा देखिएकी उनी पुनः सक्रिय भइन्।
सन् २०२० अप्रिल ३० मा ऋषि कपूरको निधनपछि नीतुको जीवनमा ठूलो मोड आयो। कठिन समयका बाबजुद उनले आफूलाई सम्हाल्दै काममा फर्किइन्। उनले विभिन्न रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गरिन् र अभिनयलाई निरन्तरता दिइन्।नीतु कपूरले एक अन्तर्वार्तामा भनेकी थिइन्, “काममा फर्किनु मेरो घाउमा मल्हम लगाइदिएजस्तै थियो। केही समयका लागि मैले आफ्नो पीडा बिर्सन सकेँ।”
६८ वर्षको उमेरमा पनि नीतु कपूर उत्तिकै लोकप्रिय छिन्। सामाजिक सञ्जालमा सक्रिय रहेर परिवारका रमाइला क्षणहरू साझा गर्ने उनी आज पनि आफ्नो सरल स्वभाव, सकारात्मक सोच र उत्कृष्ट अभिनयका कारण लाखौँ दर्शकको मनमा बस्न सफल छिन्।











प्रतिक्रिया