काठमाडौं ।
नेपालमा व्यावसायिक रेस्लिङको नयाँ युग सुरु गर्ने उद्देश्यसहित आयोजित पिडब्लुएक्सएम: रेस्ल क्यासल भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजित कार्यक्रममा स्वदेशी तथा विदेशी रेस्लरहरूको रोमाञ्चक प्रतिस्पर्धाले दर्शकलाई उत्साहित बनाएको थियो।
कार्यक्रमको सबैभन्दा ठूलो आकर्षण विश्वप्रसिद्ध जापानी रेस्लिङ लेजेन्ड तथा ब्लुडब्लुईईको हल अफ फेम तात्सुमी फुजिनामीको उपस्थिति रह्यो। नेपाल आएका फुजिनामीसहित जापानका अन्य रेस्लरहरूले नेपाली दर्शकबाट पाएको माया, समर्थन र उत्साहप्रति खुसी व्यक्त गर्दै नेपालमा रेस्लिङप्रतिको बढ्दो आकर्षणले आफूहरू प्रभावित भएको बताए। उनीहरूले आगामी दिनमा पनि नेपालसँग अन्तर्राष्ट्रिय स्तरको सहकार्य गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा जापानबाट आएका लेओना फुजिनामीहरु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो र ह्योउ ओगवालगायतका रेस्लरहरूले नेपाली रेस्लरहरूसँग प्रतिस्पर्धा गर्दै दर्शकलाई रोमाञ्चक अनुभव दिलाए।
नेपाली टोलीको नेतृत्व बुलेट फ्लो (थापाकाजी) ले गरेका थिए। साथै जोन ब्रीज, लिजार्ड किङलगायत नेपाली रेस्लरहरूको प्रदर्शनले पनि दर्शकको प्रशंसा बटुलेको थियो।रेस्लिङ खेलसँगै चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाएको थियो। हलभरि खचाखच भरिएका दर्शकको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाएको आयोजकले जनाएको छ।
पिग ई प्रोडक्सनको प्रस्तुति तथा नखिपोट युथ क्लबको सह–आयोजनामा सम्पन्न कार्यक्रमका निर्देशक तकाशी ताकेइ (टक बिष्ट) ले पिडब्लुएक्सएम: रेस्ल क्यासलको सफलताले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक रेस्लिङ आयोजना गर्न सकिने सम्भावना अझ बलियो बनेको बताए।आयोजकका अनुसार यस कार्यक्रमले नेपाल र जापानबीच खेल तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली रेस्लरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।











प्रतिक्रिया