ग्लोबल आइएमई बैंकको ‘एआई/एमएल ह्याकाथन २०२६’ सुरु


काठमाडौँ।

ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६’ शुक्रबारदेखि सुरु भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्।

नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित बैंकले गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको थियो। त्यसको निरन्तरता स्वरूप यस वर्ष दोस्रो संस्करण सञ्चालन गरिएको हो।

प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा खुला आवेदनमार्फत छनोट भएका १४ टोली सहभागी छन्।

प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा ३६ घण्टे कोडिङ सेसन र त्यसपछि अनसाइट ह्याकाथन हुनेछ। सहभागी टोलीहरूका लागि आवासीय व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।

प्रतियोगितामा सहभागीहरूले बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यसहित विभिन्न नविनतम अवधारणा प्रस्तुत गर्नेछन्।

उद्घाटन कार्यक्रममा सीईओ रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका सम्भावित सेवा विस्तार तथा चुनौती समाधानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले उत्कृष्ट टोलीलाई नगद पुरस्कारसहित बैंकसँग सहकार्यको अवसरसमेत प्रदान गरिने जानकारी दिए।

ग्लोबल आइएमई बैंकले विगतमा ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा पछिल्ला वर्षहरू २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ उपाधि प्राप्त गरेको छ।

त्यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सेलेन्स २०२२, २०२४ र २०२५ सहित विभिन्न अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ।

हाल बैंकले ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ। ३४४ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट रेमिट्यान्स सेवा प्रवाह गर्दै आएको छ।