त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण


काठमाडौं, (नेस) ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई साताअघि कलेजो प्रत्यारोपण गरिएका एक बिरामी स्वास्थ्य लाभपछि सोमवार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

डिस्चार्ज हुने ६४ वर्षीय पुरुष बिरामीलाई लिभर सिरोसिसका कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको थियो । उहाँलाई आफ्नै २८ वर्षीय छोराले कलेजो दान गर्नुभएको थियो । प्रत्यारोपण टोलीका संयोजक प्रा.डा. रमेशसिंह भण्डारीका अनुसार बुबा–छोराबीच सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न भएको हो ।

डा. भण्डारीले बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले आवश्यक चिकित्सकीय निगरानीपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवि शिक्षण अस्पतालले हालसम्म २६ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । प्रारम्भिक १० वटा प्रत्यारोपण विदेशी विशेषज्ञ चिकित्सकको सहयोगमा गरिएको भए पनि त्यसपछिका १६ वटा प्रत्यारोपण भने नेपाली चिकित्सकको टोलीले आफ्नै नेतृत्वमा गर्दै आएको उहाँले बताउनुभयो ।

‘अहिले हामी २६औँ कलेजो प्रत्यारोपणसम्म आइपुगेका छौँ । सुरुका १० वटा प्रत्यारोपणमा विदेशी विशेषज्ञको सहयोग लिएका थियौँ, त्यसपछिका सबै प्रत्यारोपण नेपाली चिकित्सकको टोलीले आफ्नै नेतृत्वमा सफलतापूर्वक गरिरहेको छ । यो अस्पताल मात्र होइन, समग्र देशकै स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि हो’ –डा. भण्डारीले भन्नुभयो ।

उहाँले कलेजो प्रत्यारोपण सेवामा त्रिवि शिक्षण अस्पतालको टोली पूर्णरूपमा आत्मनिर्भर बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा अझ जटिल प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विदेशी विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा २०७६ जेठ १७ गते पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गरिएको थियो । त्यसपछि २०८० पुस २७ गतेदेखि भने नेपाली चिकित्सकहरूको टोलीले विदेशी चिकित्सकको प्रत्यक्ष सहयोगबिनै कलेजो प्रत्यारोपण गर्दै आएको छ ।

नेपालमै दक्ष जनशक्ति र प्रविधिको विकाससँगै कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै जाँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको चिकित्सकहरूको भनाइ छ ।