जैतुनबाट स्याउतर्फ : किन ओझेलमा प¥यो बाजुराको सम्भावनायुक्त नगदे बाली?

752
Shares

बाजुरा ।

हिमाली जिल्ला बाजुरामा करिब एक दशकअघि ठूलो आशा र उत्साहका साथ सुरु गरिएको जैतुन (ओलिभ) खेती अहिले नीतिगत प्राथमिकताबाट ओझेलमा परेको भन्दै स्थानीय किसान, कृषि प्राविधिक र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। परीक्षणका रूपमा रोपिएका जैतुनका बोटहरूले फल दिन थाले पनि सरकारी चासो क्रमशः घट्दै जाँदा यसलाई व्यावसायिक रूप दिने अवसर गुम्ने खतरा बढेको छ।


नेपाल सरकारले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वैकल्पिक नगदे बाली प्रवद्र्धन गर्ने उद्देश्यले जैतुन खेती विस्तारको अवधारणा अघि सारेको थियो। त्यसका लागि विशेष कार्यक्रम सञ्चालन गरियो, प्राविधिक सहयोग प्रदान गरियो र जैतुन विकाससम्बन्धी संरचनासमेत स्थापना गरियो। बाजुराका कोल्टी, स्वामीकार्तिक, बडिमालिका लगायतका क्षेत्रमा किसानलाई बिरुवा वितरण गरी परीक्षण खेती सुरु गरिएको थियो।

तर पछिल्ला वर्षहरूमा सरकारी प्राथमिकता जैतुनभन्दा स्याउ खेती विस्तारतर्फ केन्द्रित भएको देखिन्छ। बजेट, कार्यक्रम तथा प्राविधिक सहयोग स्याउ प्रवद्र्धनमा केन्द्रित हुन थालेपछि जैतुन खेतीमा लगानी र अनुगमन घटेको स्थानीयहरूको आरोप छ।

परीक्षण सफल, तर विस्तार रोकियो

बुढीनन्दा नगरपालिका–कोल्टी, स्वामीकार्तिक खापर गाउँपालिका, बडिमालिका नगरपालिका लगायतका क्षेत्रमा करिब दश वर्षअघि रोपिएका जैतुनका बिरुवाहरू अहिले फल उत्पादनको चरणमा पुगेका छन्। केही किसानले नियमित रूपमा फल संकलन गर्न थालेका छन् भने उत्पादनको गुणस्तरसमेत उत्साहजनक रहेको बताइन्छ।
जैतुन प्रवद्र्धनमा सक्रिय एबं होटल व्यवसायी तथा अभियन्ता जनेश भण्डारी भन्छन्,“हामीले दशकअघि लगाएका बोटहरू अहिले उत्पादन दिन थालेका छन्।

उत्पादन भएको फलको नमुना इटालीसम्म परीक्षणका लागि पठाइएको थियो। प्राप्त जानकारी अनुसार तेलको गुणस्तर राम्रो देखिएको छ। तर यति सम्भावना हुँदाहुँदै पनि सरकारले यसलाई निरन्तरता दिन सकेन।“अनुसन्धान परियोजनाले प्राप्त गरेको उपलब्धीलाई नेपाल सकरारले संस्थागत गर्न नसकेको ।। बाजुरा वलिफजोन र जैतुन विकास केन्द्र गरी दुइटा सरकारी कार्यालय समेत स्थपना गरेको थियो । जैतुन प्रवधन छोडेर स्याउ र ओखर जोनमा पविर्तनगरी अहिले पिलुचौरमा छ भने जैतुन विकास केन्द्र विस्थापित हुंदा दशकौं सम्म लगानी गरेको जैतुन खेती ओझेलमा परेको गुनासो भण्डारीको छ । किन महत्वपूर्ण छ जैतुन?

विश्व बजारमा जैतुनको तेल उच्च मूल्यका कृषि उत्पादनमध्ये एक मानिन्छ। स्वास्थ्यवद्र्धक गुणका कारण यसको माग विश्वव्यापी रूपमा बढिरहेको छ। जैतुन तेल खाना पकाउन, सलादमा प्रयोग गर्न, औषधीय सामग्री निर्माण, सौन्दर्य प्रसाधन उत्पादन तथा पोषणजन्य उपयोगका लागि प्रयोग गरिन्छ।

कृषि विज्ञहरूका अनुसार समुद्री सतहबाट १,५०० देखि २,५०० मिटर उचाइ भएका, कम आद्र्रता र प्रशस्त घाम लाग्ने क्षेत्र जैतुन खेतीका लागि उपयुक्त मानिन्छन्। बाजुराका धेरै भूभाग यस मापदण्डभित्र पर्ने भएकाले यहाँ यसको दीर्घकालीन सम्भावना रहेको देखिन्छ। विशेषज्ञहरू भन्छन्, जैतुन एकपटक रोपेपछि दशकौँसम्म उत्पादन दिने बाली हो। उचित व्यवस्थापन गर्न सके यसले किसानलाई स्थायी आम्दानीको स्रोत प्रदान गर्न सक्छ।

सरकारी प्राथमिकता फेरिँदा बढ्यो अन्योल
स्थानीय किसानहरूका अनुसार जैतुन खेतीलाई प्रारम्भिक चरणमा प्रोत्साहन दिइयो, तर उत्पादन दिन थालेको समयमा कार्यक्रम सुस्त बन्न पुग्यो। प्रशोधन उद्योग स्थापना, बजार व्यवस्थापन, अनुसन्धान विस्तार तथा उत्पादन अभिलेखीकरणमा पर्याप्त ध्यान नदिइएको गुनासो छ।

कृषि क्षेत्रका जानकारहरू भन्छन्, जैतुन खेतीलाई परीक्षणको घेराभित्र मात्र सीमित नराखी व्यवसायीकरणको चरणमा लैजान दीर्घकालीन योजना आवश्यक छ। गुणस्तरीय बिरुवा उत्पादन, किसानलाई प्राविधिक तालिम, तेल प्रशोधन केन्द्र स्थापना र बजार सुनिश्चितता नभएसम्म उत्पादन बढाउन कठिन हुने उनीहरूको भनाइ छ।

अवसर अझै बाँकी छ

बाजुराका कोल्टी, स्वामीकार्तिक, बडिमालिका, मार्तडी आसपासका उच्च पहाडी भूभागमा जैतुन खेती विस्तार गर्न सकिने सम्भावना अझै कायमै छ। कृषि विविधीकरण, आयआर्जन वृद्धि र उच्च मूल्यका नगदे बालीको विकासका दृष्टिले जैतुन प्रभावकारी विकल्प बन्न सक्ने विज्ञहरूको धारणा छ।

कोल्टीका कृष्क पूर्णवहादुर विष्ट भन्छन्, यदि सरकारले जैतुन खेतीलाई पुनः प्राथमिकतामा राखेर अनुसन्धान, उत्पादन, प्रशोधन र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउने हो भने बाजुरा भविष्यमा नेपालको महत्वपूर्ण जैतुन उत्पादन क्षेत्र बन्न सक्छ।

आजको प्रश्न यही हो—दश वर्षको परीक्षणपछि उत्पादन दिन थालेको जैतुन खेतीलाई व्यवसायीकरणतर्फ लैजाने कि फेरि अर्को सम्भावनायुक्त बालीजस्तै नीतिगत उपेक्षाको सिकार बन्न दिने?

बाजुराको कृषि भविष्यसँग जोडिएको यो प्रश्नको उत्तर राज्यको आगामी कृषि नीति र प्राथमिकताले निर्धारण गर्नेछ।