२ हजार ७५ जनशक्ति परिचालित हुने

आवश्यकताको आधारमा सुरक्षा निकाय परिचालन हुने

564
Shares

कामपाले विपद्जन्य घटनामा परिचालन गर्न ३५० नगरप्रहरी, ५८ फायर पाइटरसहितको चालक, ढल मंगल तथा डुवानका लागि २० जना, नदीकिनारा सफाइ ४८, पोखरी ३१, नालीसफाइका लागि ३ सय, हेभीसवारी चालक ५६ जना, ३ वटा डोजर, ५ स्काभेटर, ७–७ जना लोडर र सर्च एण्ड रेस्क्यु, पानीजन्य विपद् उद्धार तालिमयुक्त जनशक्ति तयारी अवस्थामा राखिएको जनाएको छ । त्यसबाहेक १ हजार ६८ जना वातावरण विभागका कर्मचारी पनि खटिने कामपाको भनाइ छ ।

काठमाडौं ।

यो वर्षको मनसुनजन्य विपद्का घटना नियन्त्रण गर्न काठमाडौं महानगरपालिका एक्लैले २ हजार ७५ जना जनशक्ति परिचालन गर्ने भएको छ । यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समावेस छैनन् । तीनवटा सुरक्षा निकाय आवश्यकताको आधारमा परिचालित हुनेछन् ।

कामपा विपद् व्यवस्थापन विभाग र वातावरण विभागका टोलीसमेत गरी २ हजार ७५ जनशक्ति परिचालित हुने बताइएको छ । यसका लागि कामपा विपद् व्यवस्थापन विभागले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ तयार गरिएको जानकारी दिँदै विपद् व्यवस्थापन विभाग प्रमुख अनिरुद्र नेपालले भन्नुभयो– ‘राजधानीमा मनसुनजन्य विपद्को घटना भए तत्काल उद्धार गर्न प्रतिकार्य योजना तयार गरेका हौँ ।’ काठमाडौं महानगरपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, काठमाडौं महानगरपालिका नगर प्रहरी ऐन २०८० का आधारमा प्रतिकार्य योजना तयार गरेको जनाएको छ ।

कामपाले विपद्का घटना दोहोरिन नदिन जोखिम क्षेत्रहरूको विवरण, संवेदनशील बस्तीहरूको पहिचान, आपतकालीन सम्पर्क सूची, उपलब्ध जनशक्ति तथा साधन स्रोत, खोज तथा उद्धार सामग्री, खुला तथा सुरक्षित आश्रयस्थलहरूको विवरण संकलन गरिसकेको छ । विपद्का कारण हुने जनधनको क्षति कम गर्न, उद्धार तथा राहत कार्य छिटो र प्रभावकारी बनाउन, समुदायको तयारी तथा सहभागिता बढाउन र विपद् व्यवस्थापन प्रणाली थप सुदृढ बनाउने योजनासहित पूर्वतयारी थालेको कामपाले जनाएको छ ।

कामपाले विपद्जन्य घटनामा परिचालन गर्न ३५० नगरप्रहरी, ५८ फायर पाइटर सहितको चालक, ढल मंगल तथा डुबानका लागि २० जना, नदीकिनारा सफाइ ४८, पोखरी ३१, नालीसफाइका लागि ३ सय, हेभीसवारी चालक ५६ जना, ३ वटा डोजर, ५ स्काभेटर, ७–७ जना लोडर र सर्च एण्ड रेस्क्यु, पानीजन्य विपद् उद्धार तालिमयुक्त जनशक्ति तयारी अवस्थामा राखिएको जनाएको छ । त्यसबाहेक १ हजार ६८ जना वातावरण विभागका कर्मचारी पनि खटिने कामपाको भनाइ छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यसपटकको मनसुनमा गत सालको तुलनामा औसतभन्दा कम वर्षा हुने र तापमान औसतभन्दा बढी हुने देखिएको छ ।

कामपाले प्रत्येक वर्ष मनसुनका कारण बाढी, डुबान, नदी कटान, पहिरो, सडक अवरोध,आगलागी, विद्युत्जोखिम तथा जनस्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुने भएकाले सम्भावित जनधनको क्षति न्यूनीकरण गरी प्रभावकारी विपद् व्यवस्थापन गर्न यो योजना तयार गर्ने गरेको हो । कामपाका अनुसार बाढीजन्य विपद्ले धेरै धनजनको क्षति पु¥याउने गरेको छ ।

कामपा विपद् व्यवस्थापन विभाग प्रमुख नेपालले विपद्जन्य घटना भए तत्काल उद्धार गर्नेदेखि अस्थायी बास दिनेसम्मको योजना तयार भएको छ । उहाँका अनुसार कामपाले २८ खुलास्थान, ५१ पार्क र ७१ स्कुलमा आपत्कालिन अवस्थामा बस्ने व्यवस्था मिलाएको छ ।

विगतका वर्षभन्दा यो वर्ष विशेष सावधानीका अपनाउँदै कामपाले ३५ वटै वडामा उद्धारटोली खटाउनेछ भने विपद्जन्य भण्डारकक्ष तयार गरेको छ । विपद्जन्य घटना हुन नदिन माइकिङ गर्नेछ भने आवश्यकताअनुसार सुरक्षा संयन्त्रसँग सहयोग लिने व्यवस्था गरेको छ ।

मनसुनजन्य विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्दै खोज, उद्धार,राहत,पुनःस्र्थापना तथा पुनःनिर्माणलाई प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउनु प्रतिकार्य योजना रहेको जानकारी दिनुभयो । योजनाअन्तर्गत जनधनको क्षति न्यूनीकरण,जोखिमयुक्त क्षेत्रहरूको पहिचान, विपद् प्रभावित नागरिकलाई शीघ्र उद्धार तथा राहत उपलब्ध गराउने उद्देश्य रहेको विभागले जनाएको छ ।

काठमाडौंमा विशेषगरी सहरी डुबान, नदी कटान तथा बाढी, पहिरो, सडक अवरोध, घर तथा संरचनामा क्षति, विद्युत् तथा सञ्चार अवरोध, स्वास्थ्य तथा महामारी जोखिम, आगलागी तथा विद्युत् सर्ट सर्किटलाई जोखिमको रूपमा पहिचान गरेको छ ।

गतवर्ष काठमाडौं उपत्यकामा विगत दुई दशकयताकै अत्यधिक वर्षा तथा बाढी आएको थियो । बागमती तथा सहायक नदीहरूमा जलस्तर अत्यधिक बढ्दा डुबान, संरचनागत क्षति, सडक अवरोध तथा जनजीवनमा व्यापक असर परेको थियो । त्यस घटनालाई आधार मानेर यो वर्ष नयाँ र योजना तयार गरेको जानकारी दिँदै विभागीय प्रमुख नेपालले भन्नुभयो– ‘यसपालि हामीले मनसुनअघि जोखिमयुक्त क्षेत्रको पहिचान र अद्यावधिक खुलास्थान, सुरक्षित आश्रयस्थल र हेलिप्याडको विवरण अद्यावधिक, आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गर्ने,जनचेतनामूलक कार्यक्रम , खोज,उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्नुका साथै नगर प्रहरी तथा स्वयंसेवक परिचालनको तयारी सुरु गरेका छौँ ।’

विभागका अनुसार विपद्जन्य घटना हुने क्षेत्रमा महानगर प्रहरीले विपद् पूर्वतयारी, माइकिङ, जनचेतना, जोखिम क्षेत्रको निगरानी, खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, यातायात व्यवस्थापन तथा राहत वितरणमा सहयोग गर्ने जिम्मेवारी दिइएको छ ।

विपद्जन्य आपतकालीन सम्पर्क गर्ने नम्बरहरु

१०१ – दमकल सेवा
१०२ – एम्बुलेन्स सेवा
१०० – नेपाल प्रहरी
१११४ – सशस्त्र प्रहरी
११८० – काठमाडौं महानगरपालिका कल सेन्टर