पहिलोपटक राष्ट्रिय झण्डा नै बन्यो कला महोत्सवको एक मात्र विषय

कलाकारहरूले खोजे राष्ट्रको अर्थ

564
Shares

काठमाडौं ।

झण्डा सामान्यतया फहराइन्छ । त्यसलाई सलामी दिइन्छ, सम्मान गरिन्छ । तर झण्डालाई हेर्ने, बुझ्ने र पुनःकल्पना गर्ने अवसर बिरलै आउँछ । यही बिरलै हुने प्रयासलाई मूर्त रूप दिँदै नेपाली कलाकारहरूले पहिलोपटक राष्ट्रिय झण्डालाई नै कला महोत्सवको केन्द्र बनाए । एउटै झण्डा कसैका लागि ब्रह्माण्ड बन्यो, कसैका लागि सगरमाथा, कसैका लागि शिव–पार्वतीको आध्यात्मिक ऊर्जा र कसैका लागि प्रेम, प्रकृति र सभ्यताको निरन्तरता ।

‘झण्डा कला महोत्सव–२०८३’ ले यसरी राष्ट्रिय प्रतीकलाई सरकारी औपचारिकताबाट निकालेर कलाकारको कल्पना र नागरिक चेतनाको क्यानभासमा उभ्याएको छ । आयोजकका अनुसार राष्ट्रिय झण्डालाई एउटै विषय बनाएर आयोजना गरिएको यति ठूलो कला प्रदर्शनी सम्भवतः विश्वमै पहिलो हो ।

नेपाली कलाकारहरूको सिर्जनशील समूह ‘आर्ट बुम’को आयोजनामा आषाढ ५ देखि १२ गतेसम्म राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन भएको प्रदर्शनीमा ४५८ वटा चित्रकला प्रदर्शन गरिए । ३३ जना वरिष्ठ तथा युवा कलाकार, करिब २५ जना कला अध्ययनरत विद्यार्थी, एक बेलायती चित्रकार तथा कक्षा १ देखि १० सम्मका झण्डै ३०० बालकलाकारहरू एउटै विषयमा सिर्जना लिएर यस प्रदर्शनीमा सहभागी भएका थिए । प्रदर्शनीको उद्घाटन वरिष्ठ क्याप्टेन तथा सामाजिक अभियन्ता विजय लामाले गर्नुभएको थियो ।

नेपाली चित्रकलाका अग्रज राधेश्याम मुल्मी, किरण मानन्धर, राजु पिठाकोठे, जीवनराज उपाध्याय, सुष्मा राजभण्डारी, धर्मराज शाक्य, सञ्जय प्रधान, विनोद गुप्ता, रत्न शाक्य, आर्या राजभण्डारी, निरू शाह र प्रमिला बज्राचार्यलगायतका कलाकारका कृतिले प्रदर्शनीलाई विशेष बनाएको थियो ।

झण्डा सामान्यतः राष्ट्र, सार्वभौमिकता र राज्यसत्ताको प्रतिनिधित्व गर्ने चिन्ह हो । तर यस प्रदर्शनीमा कलाकारहरूले त्यसलाई मानिस, संस्कृति, प्रकृति, अध्यात्म र स्मृतिको भाषा बनाएका थिए । कसैले झण्डालाई ब्रह्माण्डसँग जोडे, कसैले सगरमाथासँग, कसैले राधा–कृष्ण र शिव–पार्वतीको आध्यात्मिक संसारमा झण्डा खोजे भने कसैले प्रकृतिका प्रत्येक रङभित्र नेपालको झण्डाको उपस्थिति देखे । यथार्थवाद, अमूर्तवाद, आधुनिक कला, घनवाद र मिश्रित माध्यममा सिर्जित चित्रहरूले एउटै राष्ट्रिय प्रतीकका सयौं अर्थ प्रस्तुत गरेका छन् ।

सबैभन्दा फरक सिर्जनामध्ये कलाकार निरू शाहले चामलको एउटै दानामै नेपालको झण्डा कोरेर सूक्ष्म कलामार्फत झण्डालाई राष्ट्रिय सम्मान व्यक्त गर्नुभयो ।

विश्वका सबै राष्ट्रिय झण्डामध्ये नेपालको झण्डा विशेष छ । यो विश्वको एक मात्र आयताकार नभएको राष्ट्रिय झण्डा हो । दुई त्रिकोणीय आकृति, सूर्य–चन्द्रको प्रतीक र गाढा रातो–नीलो संयोजनले यसलाई अद्वितीय बनाएको छ । सायद यही विशिष्टताले कलाकारहरूलाई पनि आकर्षित ग¥यो। उनीहरूले झण्डालाई केवल राष्ट्रिय चिन्हका रूपमा मात्र नभई, जीवित सांस्कृतिक प्रतीकका रूपमा पुनःचित्रित गरे।

प्रदर्शनीले नेपाली कला बजारमा उत्साह पनि थपेको छ । आर्ट बुमका संस्थापक कलाकार रत्न शाक्यको ‘ब्रह्माण्डमा मेरो झण्डा’ शीर्षकको चित्र ५० हजार रुपैयाँमा बिक्री भयो । आयोजकका अनुसार यस प्रदर्शनीमा १० हजारदेखि ४ लाख रुपैयाँसम्म मूल्यका करिब १७ वटा चित्र बिक्री भए। यसले नेपाली कला बजारमा मौलिक नेपाली विषयवस्तुले पनि आर्थिक मूल्य सिर्जना गर्न सक्ने सम्भावना देखाएको आयोजकको विश्वास छ।

यसकारण फरक छ यो प्रदर्शनी
नेपालमा देवदेवी, जात्रा, हिमाल, प्रकृति, महिला, समाज र राजनीतिलाई केन्द्रमा राखेर धेरै थिमेटिक कला प्रदर्शनी भएका छन् । तर राष्ट्रिय झण्डालाई नै एक मात्र विषय बनाएर सयौं कलाकारलाई एउटै प्रतीकको नयाँ अर्थ खोज्न लगाउने प्रयास भने दुर्लभ मानिन्छ। त्यसैले यो प्रदर्शनी केवल चित्रहरूको संग्रह होइन । यसले एउटा गम्भीर प्रश्न पनि उठाएको छ । त्यो हो, राष्ट्रिय झण्डा केवल राज्यको चिन्ह हो कि एउटा राष्ट्रको इतिहास, संस्कृति, संघर्ष र सामूहिक स्मृतिको पनि दृश्य अभिव्यक्ति हो ?

कलाकार रत्न शाक्यको एउटा भनाइले प्रदर्शनीको सार समेट्छ– ‘झण्डा रहे पो त हामी, झण्डा नै नरहे के हामी?’ यो प्रदर्शनीको विशेषता झण्डा कोर्नु मात्र होइन । यसको विशेषता झण्डाको अर्थ कोर्नु पनि थियो । सामान्यतया राष्ट्रिय झण्डा हावामा फहरिन्छ । तर ‘झण्डा कला महोत्सव–२०८३’ मा भने त्यो क्यानभासमा बाँच्यो । सायद पहिलोपटक, एउटै राष्ट्रिय प्रतीकले सयौं कलाकारका ब्रसबाट ४५८ फरक कथा सुनायो । सरकारी औपचारिकताको सीमाभन्दा बाहिर निकालेर कलाकारहरूले राष्ट्रिय झण्डालाई इतिहास, संस्कृति, अध्यात्म र नागरिक चेतनाको साझा बिम्बका रूपमा पुनःव्याख्या गरे ।