त्रुटि भएको भए किन ८ हजार कम विद्यार्थीले पुनर्योगको निवेदन दिए ?

आन्दोलनरत विद्यार्थीलाई चुप लगाउन समिति गठन

1.13k
Shares

काठमाडौं ।

कक्षा १२ को परीक्षामा (पुनर्योग) रिटोटलिङ गर्न निवेदन दिने विद्यार्थीको संख्या घटेको छ । यो वर्ष ३२ हजार ८ सय ८६ पुगेको छ । अर्थात् यो वर्ष ८ हजार १२९ जना घटेको छ । गत वर्ष ४२ हजार १५ जना बढी भएको कारण रिटोटलिङ गर्ने विद्यार्थीको संख्या बढ्नुपर्ने हो । तर घटेको छ । यसको मतलब विगतको तुलनामा परीक्षाफलमा सुधार आएको छ ।

विद्यार्थीलाई परीक्षाफलमा चित्त नबुझे उत्तरपुस्तिका समेत हेर्न पाउने व्यवस्था छ । तर केही विद्यार्थी परीक्षामा लापरबाही भएको भन्दै आन्दोलन जारी राखेका छन् । सोही आन्दोलनको बलमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षामा त्रुटि भएको विषयमा छानबिन गर्न समिति बनाउनुभएको छ ।

विभिन्न ११ विद्यार्थी संगठनले कक्षा १२ को नतिजा त्रुटि भएको भनी उचालेको प्रस्ट देखिएको छ । तोकिएको मितिभन्दा १० दिनअघि परीक्षाफल प्रकाशित भएको थियो । अर्थात् असार ५ गते परीक्षाफल प्रकाशित भएको थियो । सो परीक्षाफल प्रकाशित भएको ९ दिन पुगेको छ ।

‘विगतमा ढिलो परीक्षाफल प्रकाशित हुँदा मख्ख पर्ने विद्यालय सञ्चालक र विद्यार्थी अहिले आन्दोलनमा छन् । सोही आन्दोलनको जोडमा छानबिन समिति बनेको छ । दिनरात नभनेर काम गर्ने ? अनि कर्मचारीको मनोबल खस्कने गरी छानबिन समिति बनाउने ? यो त सरासर गलत हो’ –बोर्डका कर्मचारीले भने ।

बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव चूडामणि पौडेल, मन्त्रालयका अधिकारी र बोर्डका पदाधिकारीले विगतभन्दा परीक्षामा सुधार भएको र समयमै परीक्षाफल प्रकाशित गरेकोमा खुसी जनाएका छन् । तर माइतीघरमा केही विद्यार्थीले आपत्ति जनाउँदैमा सरकारले हतारमा समिति गठन गरेको छ ।

नतिजा त्रुटि भएको प्रमाण वा पुस्ट्याइँ के ? न पुनर्योगको नतिजा आएको छ न त विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न पाएका छन् । त्रुटिको आधार के ? आफूले कम ग्रेड पाए भन्दैमा त्रुटि भयो भन्नु गलत भएको बोर्डको धारणा छ ।
राष्ट्रिय परीक्षाबोर्डका नियन्त्रक कृष्णप्रसाद शर्माले विगतभन्दा परीक्षाफल व्यवस्थित भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारको निर्देशनअनुसार तोकिएको समयअगावै परीक्षाफल प्रकाशित गरेका छौं । परीक्षामा त्रुटि भए पुनर्योग गर्न पाउने अधिकार छ । चित्त नबुझे आफ्नो उत्तरपुस्तिका हेर्न सक्छन् । आन्दोलनले समस्या समाधान गर्दैन ।’

परीक्षाफलमा त्रुटि देखिएको भन्दै आन्दोलनरत विद्यार्थीलाई थमथम्याउन शिक्षामन्त्री पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेख्नुभएको थियो– ‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्टयाई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।’

तैपनि समिति गठन भएको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको छ ।

नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले लेखेअनुसार नम्बर नआएको र उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् । बोर्डले ४२ परीक्षाकेन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेको थियो । २० वटा सम्परीक्षण केन्द्रमा उत्तरपुस्तिका राखिएको थियो । नेपाली, अंगे्रेजी र सामाजिक अध्ययन विषयको उत्तरपुस्तिका परीक्षण परीक्षा सकिनासाथ सकिएको थियो । उत्तरकुञ्जिका दिएर मात्र उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सँगै भएको थियो । त्यसपछि सम्परीक्षण सँगै म्याच अनम्याच भएको थियो । यसको अर्थ हतारमा परीक्षाफल प्रकाशित गरेको होइन । विद्यालयको पढाइको कारण धेरै विद्यार्थी अनुत्तीर्ण भएको थियो ।

परीक्षा नियन्त्रक शर्माले भन्नुभयो– ‘सबै इन्ट्रीपछि टेबुलेसन, टेबुलेसन रुजु गरेपछि विषयगत हाजिर हेर्ने व्यवस्था गरेको थियो ।’ नियन्त्रक शर्माले परीक्षालाई विश्वसनीय बनाउन मार्जिनल हेर्ने काम गरेको बताउनुभयो । उहाँले अरू विषयमा राम्रो तर एक दुई विषयमा एनजी वा कम नम्बर आएमा सबै उत्तरपुस्तिरका पुनः हेर्ने काम गरेको जानकारी दिनुभयो । सरकारले समयमै विश्वविद्यालयमा भर्ना हुन, छात्रवृत्ति पाउन विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान र विद्यार्थीको क्षमता विकास गर्न ४० दिनमै परीक्षाफल प्रकाशित गरेको बताउनुभयो ।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड (एनजी) भएका छन् । बोर्डले रिटोटलिङ गर्न १ हजार रुपियाँ शुल्क तोकेको छ । उत्तरपुस्तिका हेर्न एक हजार ५ सय र पुनः परीक्षण गराउन दुई हजार रकम निर्धारण गरेको छ । विद्यार्थीले उक्त शुल्क घटाउनसमेत माग राखेका छन् । विद्यार्थीले शुल्क महँगो भएको विषयमा छानबिन गर्र्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका थिए । बोर्डका अनुसार ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

परीक्षामा सुधार गर्न हरेक विषयको ५ जना विज्ञसँग कार्यशाला सञ्चालन गरेको थिए । बोर्डले परीक्षा सञ्चालन भएकै दिन सुगम र परीक्षा सकिएपछि वैशाख तेस्रो साताभित्र सबै केन्द्रको उत्तरपुस्तिका संकलन गरिसकेको थियो । कार्ययोजनाअनुसार दैनिक रूपमा संकलन हुने उत्तरपुस्तिकाको विषयगत रूपमा प्याकिङ कार्य परीक्षा सञ्चालन भएको भोलिपल्ट गरेको थियो ।

यसैगरी उत्तरपुस्तिका परीक्षण गर्न बोर्डका सम्बन्धित कार्यालयअन्तर्गत विषयगत शिक्षक उपलब्ध हुन सक्ने स्थानहरूमा आवश्यकताअनुसार परीक्षण केन्द्र कायम गरी परीक्षण सुरु गरेको थियो ।

वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी थिए । यो वर्षको परीक्षामा ५ हजार ३ सय ३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ विद्यार्थीले परीक्षा दिएका थिए । नयाँ सरकारले छिटो परीक्षाफल प्रकाशित गर्ने नीति लिएपछि हतारमा तयार गरिएको कक्षा १२ को परीक्षामा अघिल्लो वर्षभन्दा ९ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका थिए । परीक्षामा ६९ दशमलव ७५ प्रतिशत उत्तीर्ण भएका थिए । आंशिक परीक्षार्थीहरू पनि ४२ प्रतिशत उत्तीर्ण भएका थिए ।

बोर्डले व्यवस्थित रुपमा परीक्षाफल गरेपछि यो पटक उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी बढेको जानकारी दिनुभयो । ‘यो वर्ष १७ हजार ७ सय ८६ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका थिए । प्रतिशत र ग्रेडका हिसाबले पनि यो वर्ष राम्रो छ । जीपीए ३.२१ देखि ६ देखि ३.६ सम्म आउनेको संख्या ६४ हजार ४ सय २१ छ । प्रतिशत पनि बढेको छ । जीपीए ल्याउने विद्यार्थीको संख्या पनि ह्वात्तै बढेको छ, कसरी त्रुटि भयो ? –बोर्डको प्रश्न छ ।