प्यूठान ।
प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगर सवार गाडी दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारीअनुसार उनले आफैं चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेशाल क्षेत्रमा सडकबाट करिब ३०० मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको हो। शनिबार साँझ करिब ४:४५ बजे भएको दुर्घटनाको जानकारी स्थानीयवासीले प्रहरीलाई दिएका थिए।
घटनाका बेला उपमेयर मगर गाडीमा एक्लै रहेको खुलेको छ। प्रहरीका अनुसार घटनास्थलमा पुगेको टोलीले उपमेयर मगरको उद्धार गरेको छ। उनी घाइते अवस्थामा फेला परेका हुन्। प्रारम्भिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको जनाइएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
उद्धारका लागि अस्थायी प्रहरी पोस्ट खालबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसी नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्मा नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।











प्रतिक्रिया