राष्ट्रिय प्रतीक झण्डा बन्यो कलाको विषय : ४५८ चित्रमार्फत नेपालको पहिचानको पुनर्व्याख्या

940
Shares

काठमाडौं ।

नेपाली कलाकारहरूले पहिलो पटक राष्ट्रिय झण्डालाई केवल सरकारी समारोहमा फहराइने प्रतीकका रूपमा होइन, ‘कला, संस्कृति, अध्यात्म र राष्ट्रिय पहिचानको साझा विम्ब’का रूपमा प्रस्तुत गरेका छन्। यही प्रयासस्वरूप आयोजित ‘झण्डा कला महोत्सव–२०८३’ले नेपाली कला क्षेत्रमा नयाँ विमर्श सुरु गरेको छ।

आयोजकका अनुसार एउटै विषय–राष्ट्रिय झण्डा–लाई केन्द्रमा राखेर आयोजना गरिएको यति ठूलो कला प्रदर्शनी सम्भवतः विश्वमै पहिलो हो। सामान्यतः झण्डा सरकारी भवन, सैनिक परेड वा राष्ट्रिय दिवसमा मात्र देखिने प्रतीक हो। तर ‘झण्डा कला महोत्सव–२०८३’ ले त्यसलाई क्यानभासमा उतारेर एउटा नयाँ प्रश्न उठाएको छ—के राष्ट्रिय झण्डा केवल राज्यको चिन्ह हो, वा एउटा राष्ट्रको सामूहिक स्मृति, संस्कृति र आत्माको पनि चित्र हो?

आषाढ ५ गतेदेखि १२ गतेसम्म चलेको प्रदर्शनीमा ४५८ वटा चित्रकला प्रदर्शन गरिएका थिए। प्रदर्शनीमा ३३ जना वरिष्ठ तथा युवा कलाकार, करिब २५ जना कला अध्ययनरत विद्यार्थी र कक्षा १ देखि १० सम्मका झण्डै बाल कलाकारहरू गरी ३०० जना कलाकारहरू सहभागी थिए। प्रदर्शनीको उद्घाटन वरिष्ठ क्याप्टेन तथा सामाजिक अभियन्ता विजय लामाले गर्नुभएको थियो।

नेपाली चित्रकलाका अग्रज कलाकार राधेश्याम मुल्मी, किरण मानन्धर, राजु पिठाकोठे, जीवनराज उपाध्याय, सुष्मा राजभण्डारी, धर्मराज शाक्य, सञ्जय प्रधान, विनोद गुप्ता, रत्न शाक्य, आर्या राजभण्डारी, निरू शाह र प्रमिला बज्राचार्य लगायतका कलाकारका सिर्जनाले प्रदर्शनीलाई विशेष बनाएका थियो।

नेपालमा यसअघि देउता, जात्रा, प्रकृति, हिमाल, महिला, समाज, राजनीति जस्ता विषयमा धेरै थिमेटिक कला प्रदर्शनी भएका छन्। नेपाल कला परिषद्ले पनि विभिन्न विषयकेन्द्रित प्रदर्शनी आयोजना गर्दै आएको छ। तर राष्ट्रिय झण्डालाई मात्रै केन्द्रमा राखेर सयौं कलाकारलाई एउटै विषयमा सिर्जना गराउने प्रयास भने निकै दुर्लभ मानिएको छ। 

विश्वका १९० भन्दा बढी राष्ट्रका झण्डामध्ये नेपालको राष्ट्रिय झण्डा मात्र आयताकार छैन। दुई त्रिकोणीय संरचना, सूर्य र चन्द्रको प्रतीक तथा परम्परागत रातो–नीलो संयोजनका कारण यसलाई विश्वकै सबैभन्दा विशिष्ट राष्ट्रिय ध्वज मानिन्छ। यही अद्वितीय पहिचानलाई कलाकारहरूले आ–आफ्नै शैलीमा पुनःपरिकल्पना गरेका छन्। 

उक्त प्रदर्शनीमा राखिएको आर्ट बुमका संस्थापक कलाकार रत्न शाक्यको ‘ब्रह्माण्डमा मेरो झण्डा’ शीर्षकको चित्र ५० हजार रुपैयाँमा बिक्री भएको थियो। आयोजकका अनुसार प्रदर्शनीमा १० हजारदेखि ४ लाख रुपैयाँसम्म मूल्यका करिब १७ वटा चित्र बिक्री भइसकेका छ। यसले नेपाली कला बजारमा मौलिक विषयवस्ताप्रति सङ्कलक र कला पारखीको आकर्षण बढ्दै गएको संकेत दिएको आयोजकको भनाइ छ।

झण्डा क्यानभासबाट ब्रह्माण्डसम्म

प्रदर्शनीको विशेषता झण्डालाई परम्परागत राष्ट्रवादको सीमाभित्र नराखी कल्पना, दर्शन र सांस्कृतिक चेतनासँग जोड्नु हो।कसैले झण्डालाई ब्रह्माण्डमा देखेका छन्, त कसैले सगरमाथामा। कसैले शिव–पार्वती र राधा–कृष्णसँग जोडेका छन् भने कसैले प्रकृतिका प्रत्येक रङ र आकारभित्र नेपालको झण्डाको उपस्थिति खोजेका छन्।यथार्थवाद, अमूर्तवाद, आधुनिक कला, घनवाददेखि मिश्रित माध्यमसम्मका शैलीले एउटै प्रतीकलाई सयौं दृष्टिकोणबाट व्याख्या गरिएको थियो।

प्रदर्शनीको सबैभन्दा अनौठो सिर्जनामध्ये कलाकार निरू शाहले चामलको दानामै नेपालको झण्डा कोरेर राष्ट्रिय प्रतीकप्रतिको सम्मानलाई सूक्ष्म कलामा रूपान्तरण गरेकी थिइन्।