गृह मन्त्रालयद्वारा जिल्ला कार्यसम्पादन मूल्याङ्कनको त्रैमासिक नतिजा सार्वजनिक: रसुवा प्रशासन कार्यालय तेस्राे स्थानमा


रसुवा ।

गृह मन्त्रालयद्वारा जिल्ला कार्यसम्पादन मूल्याङ्कनको त्रैमासिक नतिजा सार्वजनिक: रसुवा प्रशासन कार्यालय तेस्राे भएकाे छ ।

गृह मन्त्रालय, सिंहदरबारले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको कार्यसम्पादन मूल्याङ्कन (CPAS) को श्रेणी तालिका सार्वजनिक गरेको छ। जम्मा ५१ पूर्णाङ्क र प्राप्ताङ्क १८.२५ को भारका आधारमा विभिन्न जिल्लाहरूको कार्यसम्पादन मापन गरी यो नतिजा तयार पारिएको हो।

सार्वजनिक विवरण अनुसार, जिल्ला प्रशासन कार्यालयहरूले अनलाइन प्रणालीमा अपलोड गरेका फाइल, स्वीकृत विवरण, बाँकी र अस्वीकृत विवरणका साथै अन्तिम प्राप्ताङ्क (प्राप्ताङ्क प्रतिशत) का आधारमा श्रेणी विभाजन गरिएको छ।

मनाङ पहिलो स्थानमा, म्याग्दी दोस्रो
यस त्रैमासिकको मूल्याङ्कनमा हिमाली जिल्ला मनाङ समग्र कार्यसम्पादनमा पहिलो श्रेणी (श्रेणी १) हासिल गर्दै उत्कृष्ट स्थानमा रहन सफल भएको छ। मनाङले शतप्रतिशत कार्य गर्दै १८ अङ्क प्राप्त गरेको छ। यसैगरी, म्याग्दी जिल्ला दोस्रो श्रेणी (श्रेणी २) सहित दोस्रो स्थानमा रहन सफल भएको छ।

भक्तपुर र रसुवा तेस्रो श्रेणीमा
मन्त्रालयको प्रतिवेदन अनुसार तेस्रो श्रेणीमा दुईवटा जिल्लाहरू परेका छन्। भक्तपुर र रसुवा दुवै जिल्लाले तेस्रो श्रेणी प्राप्त गरेका छन्।

काठमाडौँ र अन्य जिल्लाहरूको स्थिति
यसअघिका मूल्याङ्कनहरूमा काठमाडौँ जिल्लाको कार्यसम्पादन स्तर सुस्त देखिएको पृष्ठभूमिमा यस पटक अन्य जिल्लाहरू जस्तै मकवानपुर, स्याङ्जा चौथो र पाँचौँ श्रेणीमा रहेका छन्। त्यस्तै नुवाकोट, पूर्वी रुकुम, रूपन्देही, कास्की, झापा, डोटी, र नवलपरासी पूर्व लगायतका जिल्लाहरू क्रमशः विभिन्न श्रेणीमा समेटिएका छन्।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूबाट हुने सेवा प्रवाह, सुशासन, शान्ति सुरक्षा र विकास समन्वयको डिजिटल रेकर्ड (अपलोड र स्वीकृति दर) लाई मुख्य आधार बनाएर यो मूल्याङ्कन गरेको जनाएको छ। यस प्रणालीले जिल्लाहरूबीच प्रशासनिक दक्षता बढाउन प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ।