मनसुनजन्य विपद् सामना गर्न एपीएफको विशेष तयारी, २१ हजारभन्दा बढी जनशक्ति परिचालनमा


काठमाडौं ।

मनसुनजन्य विपद् तथा प्राकृतिक प्रकोपको प्रभावकारी सामना गर्न सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले देशभर विशेष तयारी गरेको जनाएको छ। एपीएफका प्रवक्ता तथा सूचना अधिकारी डीआईजी नेत्रबहादुर कार्कीले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ अनुसार जनशक्ति, उद्धार सामग्री, सवारी साधन तथा विशेष उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिएका हुन्।

कार्कीका अनुसार हालसम्म २१ हजार ६ सय ११ जना सशस्त्र प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ भने ६ हजार ८ सय ५० जनालाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ। देशभरका कार्यालयहरूमा ‘डिजास्टर फोकल पर्सन’ तोकी अन्य सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वयको व्यवस्था मिलाइएको छ। एपीएफले विपद्को उच्च जोखिम रहेका १६ जिल्लाका विभिन्न स्थानमा विपद् व्यवस्थापन बेस स्थापना गरेको छ।

धनकुटाको मुलघाट, सुनसरीको चतरा, बाराको निजगढ, सर्लाहीको भरदह, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, काभ्रेको भकुण्डेबेसी, म्याग्दीको नारच्याङ, गोरखाको आरुघाट, दाङको ज्वालामाई, सुर्खेतको चिप्ले, जुम्लाको बुडुकी, डडेलधुराको अमरगढी, डोटीको बुडर तथा कैलालीको दुर्गौलीमा बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोतसाधन तैनाथ गरिएको छ।

विपद् उद्धारका लागि ८ वटा ‘मास क्याजुअल्टी भेहिकल’, ८ वटा ‘ए क्लास एम्बुलेन्स’, १० वटा आईआरटी (इमिडियट रेस्पोन्स टिम) भेहिकल तथा १३ वटा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको छ। त्यस्तै ५२ वटा राफ्ट बोट र १४ वटा मोटर बोट समेत परिचालनका लागि तयारी अवस्थामा रहेको एपीएफले जनाएको छ। प्रवक्ता कार्कीका अनुसार १३४ जना गोताखोर, ४ हजार ७ सयभन्दा बढी विशेष तालिम प्राप्त जनशक्ति तथा विपद् उद्धार सामग्री देशभर रणनीतिक रूपमा व्यवस्थापन गरिएको छ।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा १२ वटा डीप ट्युबवेल तथा २५ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनर समेत तयारी अवस्थामा राखिएको छ। मनसुनका कारण हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै खोज तथा उद्धार योजनालाई अद्यावधिक गरिएको छ। एपीएफ–कम्युनिटी अलर्ट सिस्टम (APF-CAS) मार्फत समुदायबाट प्राप्त सूचनालाई तत्काल परिचालनमा लैजाने व्यवस्था मिलाइएको छ।

यसैगरी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त रियल टाइम डाटा सम्बन्धित कार्यालयहरूमा तत्काल उपलब्ध गराई विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने तयारी गरिएको प्रवक्ता कार्कीले बताए। साथै सम्भावित गर्मीको लहर (हीटवेभ) व्यवस्थापनका लागि मातहतका निकायलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले जानकारी दिए।