चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी रहेको छ। बुधबार मध्यरातपछि सुरु भएको मतदान बिहीबार दिउँसो १२ बजेसम्म सञ्चालन हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन व्यवस्थापनमा संलग्न राम–लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालका अनुसार बिहान ९ बजेसम्म २३ सय महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका छन्। विद्युतीय मतदान प्रणाली व्यवस्थापन गरिरहेका रिमालले मतदानको गति हेर्दा निर्धारित समयसम्म ३ हजारभन्दा बढी मत खस्ने अनुमान व्यक्त गर्नुभयो।
महाधिवेशनमा ४१ सयभन्दा बढी प्रतिनिधि रहे पनि मतदान प्रक्रिया ढिलो सुरु भएका कारण केही प्रतिनिधि घर फर्किसकेको बताइएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ। तीमध्ये खुलातर्फ २१० र भूगोलतर्फ १७४ जना उम्मेदवार रहेका छन्। सातवटै प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।
प्रदेशगत रूपमा सुदूरपश्चिमबाट १८, मधेसबाट २०, लुम्बिनीबाट ३१, कोशीबाट २०, कर्णालीबाट ३१, बागमतीबाट २७ तथा गण्डकीबाट २७ जनाले उम्मेदवारी दिएका छन्।
पार्टी विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी सदस्य मनोनयन गरिने व्यवस्था छ। सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा आठ पदाधिकारी पदका लागि मतदान हुने छ। सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
मतदाता प्रतिनिधिको नामावली समयमै टुंगो नलाग्दा बुधबार बिहान ८ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया मध्यरातपछि मात्रै सुरु भएको थियो। निर्धारित कार्यतालिका प्रभावित भएपछि केही प्रतिनिधिले असन्तुष्टि जनाउँदै मतदान बहिष्कारको नारा समेत लगाएका थिए। त्यसक्रममा महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
हाल महाधिवेशन प्रतिनिधिहरू मतदान केन्द्रमा लामबद्ध भएर मतदान प्रक्रियामा सहभागी भइरहेका छन्।











प्रतिक्रिया