ओखलढुङ्गा।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारले कोशी प्रदेशले ओखलढुङ्गा जिल्लाका लागि आर्थिक वर्ष २०८३–८४ मा खर्च गर्ने गरि विनियोजन गरेको बजेटमा सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनु भएको छ ।



सिद्धिचरण नगरपालिकाको नगर सभाको १८ औ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री सुनुवारले सडक विकासको मूल पूर्वाधार र नागरिकहरूको जिविकोपार्जनको मेरुदण्ड रहेकाले आफूले सडक निर्माण र मर्मतका लागि पहिलो प्राथमिकतामा राखेको बताउनु भएको हो। उहाँले जिल्लाका लागि बजेट विनियोजन गर्दा सडकलाई पहिलो प्राथमिकता राखेको भए पनि आवश्यकताको आधारमा अन्य क्षेत्रमा पनि पहिलेको तुलनामा यो पटक निक्कै बजेट विनियोजन गरेको दावी गर्नु भयो।
कोशी प्रदेशमा ओखलढुङ्गा जिल्ला सडक सञ्जाल बिस्तारमा अन्य जिल्लाहरूको तुलनामा सबै भन्दा पछाडि रहेको मन्त्री सुनुवारको भनाई रहेको छ। सडक सञ्जाल कमजोर रहेकै कारण अन्य जिल्लाहरूको तुलनामा ओखलढुङ्गाको विकासको सुचांक निक्कै तल रहेको उहाँको भनाई रहेको छ।“ जिल्लामा विकासको लहर ल्याउनकै लागी यो पटक सडक बिस्तारलाई पहिलो प्राथमिकतामा राखेको हु ” मन्त्री सुनुवारले सम्बोधनको क्रममा भने ।
कोशी प्रदेश सरकारले यो पटक बजेट बिनियोजनको क्रममा रमाइलो डाडा –रुम्जाटार सडक कालो पत्रेका लागी ३० करोड रुपैयाँ विनियोजन गरेको छ । यसै गरि मन्त्री सुनुवारकै पहलमा लिखु– खिजीफलाँटे सडक र प्राप्चा श्रीचौर खिजीफलाँटे सडक कालोपत्रेका लागि समेत प्रदेश सरकारले बजेट विनियोजन गरेको छ।
जिल्लाको मानेभन्ज्याङ माद्यपपुर सिस्नेरी बलखु सडक कालोपत्रे, नवलपुरघाट ताप्केडाडा कोष भन्ज्याङ ककनी सडक र जन्तरखानी– रावादोलु –खिजीफलाँटे –हर्कपुर – रात्माटे सडकका लागि समेत प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। कोशी प्रदेश सरकारले यो पटक ओखलढुङ्गामा मेटरपुल निर्माणमा समेत प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले यो पटक पहिरे खोला मोटर पुल, डुडे खोला मोटर पुल, लिखु खोला पुल, मोलुङ खोला दिप्ली पुल निर्माणका लागि प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ। आफ्नो सक्रियतामा यो पटक जिल्लाका लागि धेरै बजेट विनियोजन गरिएको भए पनि जिल्ला बासीहरूको गुनासो भने अझै रहेको मन्त्री सुनुवारले स्विकार्नु भएको छ।
जिल्लामा आवश्यकताको आधारमा बजेट कम भएकाले जिल्लावासीमा गुनासो रहनु स्वाभाविक रहेको उहाँको भनाई रहेको छ । आफू पटक पटक मन्त्री भए पनि थोरै समयका लागि मन्त्री भएकाले जिल्ला वासीको चाहना अनुरूप सबै कामहरू गर्न नसकेको गुनासो मन्त्री सुनुवारले गर्नु भयो ।











प्रतिक्रिया