–आफैँ हट्न आग्रह, नमाने सुरक्षाकर्मी परिचालन
काठमाडौं ।
सरकारले उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बसेका १ हजार ४८८ सुकुम्वासीलाई सोमबारसम्म हटाउने भएको छ । मंगलवार पाँचदिने सूचना निकालेको थियो । सोही आधारमा उपत्यकाको विभिन्न सेल्टरमा बसिरहेका सुकुम्वासीलाई हटाउन लागिएको हो । होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि सुकुम्वासी बिचल्लीमा पर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै एकमुष्ठ २५ हजार रकम लिएर तत्काल होल्डिङ सेन्टर खाली गर्न आग्रह गरेको छ । बागमती सभ्यता एकीकृत विकास समितिले ३८८ परिवारका १ हजार ४८८ जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको जनाएको छ । सकभर आफैँ हट्नेछन् । नमाने सुरक्षाकर्मीले हटाउनेछ ।
समितिका इन्जिनियर एवं सूचना अधिकारी टोपबहादुर बानियाँले असहायबाहेक सबैलाई होल्डिङ सेन्टरबाट हट्न निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘भोलि १२ गतेसम्म म्याद छ, १३ गतेबाट सरकारले जे निर्णय गर्छ सोही आधामा सुकुम्वासी हटाइनेछ । तर आइतवारसम्म सार्बजनिक बिदा परेकाले सोमबारसम्म हटाउने तयारी छ ।
सरकारको सूचनापछि केही सुकुम्वासी डेरा खोज्न थालिसकेका छन् । भने केहीले तत्काल नहट्ने दाबी गरेका छन् । समितिले सकेसम्म सोमवारबाट बाँकी सुकुम्बासीलाई होल्डिङ सेन्टरमा प्रवेश निषेध गर्ने तयारी गरेको छ ।
समितिका सूचना अधिकारी बानियाँका अनुसार हटाएका सुकुम्वासीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ । उहाँले भन्नुभयो– ‘हामीले सबै होल्डिङ सेन्टरबाट सबै सुकुम्वासी हटाउने निर्णय गरिसकेका छौं, यस विषयमा फेरि छलफल हुँदैन । अब असहाय सुकुम्वासीको विषयमा मात्र समितिले निर्णय गर्नेछ ।
स्वविवेकले हट्न चाहेकाले प्रक्रिया पु¥याएर एकमुष्ठ २५ हजार र तीन महिनासम्म व्यवस्थापन गर्न १५–१५ हजारका दरले रकम पाउनेछन्, नचाहेकालाई राज्यले हटाउनेछ । हाल कीर्तिपुरका राधास्वामी सत्सङ भवन, इचङ्गु र केही होटलमा सुकुम्वासी बसिरहेका छन् ।
रकम बुझन् होल्डिङ सेन्टरमा आउने टोलीसँग तोकिएको ढाँचामा निवेदन दिनुपर्ने उल्लेख गर्दै १२ गतेभित्र एकमुष्ठ रकम लिएर होल्डिङ सेन्टर छाड्नुपर्नेछ । त्यसका लागि निवेदकले बैंकको खाता नम्बरसहित निवेदन दिनुपर्नेछ । प्रक्रिया पूरा भएपछि खातामा रकम जाने र मासिक त्यही खातामा किस्ताबन्दीमा पठाउने उल्लेख छ ।
सूचनामा राहत रकम नपाउने सुकुम्वासीलाई अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमा सम्पर्क गर्न भनिएको छ । सरकारले वास्तविक सुकुम्वासीको तथ्याङ्कबारे जानकारी लिन अध्ययन जारी रहेको जनाएको छ । वास्तविक सुकुम्वासीलाई सरकारले निश्चित समयमा लालपुर्जा उपलब्ध गराउने छ ।
बाग्मती सभ्यता एकीकृत विकास समितिले वर्षायाम सुरु हुन लागेको भन्दै आफ्नो व्यवस्थापन गरी होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा समितिले तथ्याङ्क लिकालेको हो । गत वैशाख १२ गते थापाथलीस्थित बागमती खोला किनाराको सकुम्वासी हटाएको थियो । कीर्तिपुर होल्डिङ सेन्टरमा पहिलो दिन २०३ परिवार थिए, त्यसपछि १७९ हँुदै हाल ६४ परिवारका १५७ जना सुकुम्वासी बसिरहेका छन् ।
सरकारले वास्तविक सुकुम्वासीलाई व्यवस्थापन खर्चबापत पहिलो पटक एकमुष्ट २५ हजार र मासिक १५ हजार दिनेगरी व्यवस्थापन गर्न लागेको हो । कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीको व्यवस्थापन गर्ने जिम्मा कामपाले लिएको छ ।
स्रोतकाअनुसार करिब एक साताभित्र कीर्तिपुर र अन्य सेल्टरमा बसिरहेका सुकुम्वासी हटाइनेछ । तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुम्वासी दाबी गरेका परिवार सरकारको सम्पर्कमा पुगेका छन् । त्यसमा ७ हजार ७८९ घरपरिवार रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको थियो ।
सरकारले हालसम्म ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरेको जनाएको थियो । अब कति बाँकी छ ? भन्ने विषयमा अध्ययन जारी रहेको छ । पहिलो दिन थापाथली र गैरीगाउँ क्षेत्रको सुकुम्वासी बस्ती हटाएको थियो । दोस्रो दिन मनोहरा र शान्तिनगरक्षेत्रका सुकुम्वासी बस्ती खाली गराएको थियो । लगत्तै बालाजु, बल्खु, कालीमाटी, अनामनगर, देवीनगर, सामाखुसी, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पछाडिको स्थानका सुकुम्वासी बस्ती थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहले कार्यभार सम्हालेको एक महिनामा पहिलो प्रहार सुकुम्वासी बस्तीमा परेको थियो । वैशाख १२ गतेबाट खोला किनाराको बस्ती खाली गर्न थालेकोे थियो । सुकुम्बासी हटेपछि खोला किनारा सफा देखिएको छ ।











प्रतिक्रिया