६ महिनामा ३ हजार चिनियाँको भिसा रद्द

ओभरस्टे गर्ने विदेशीमाथि अध्यागमनको एक्सन

564
Shares

काठमाडौं ।

नेपालमा भिजिट भिसा तथा अन्य विभिन्न प्रकारका भिसामा प्रवेश गरेर लामो समयदेखि बसोबास गर्दै आएका विदेशी नागरिकमाथि अध्यागमन विभागले कडाइ सुरु गरेको छ । विभागले पछिल्लो ६ महिनायता करिब ३ हजार चिनियाँ नागरिकको भिसा प्रक्रिया रद्द गर्दै उनीहरूलाई स्वदेश फर्कन निर्देशन दिएको जनाएको छ ।
पर्यटक, व्यावसायिक तथा अन्य प्रयोजनका लागि नेपाल आएका केही विदेशी नागरिकले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको, भिसा अवधि नाघेर बसेको तथा नेपाली कानुन उल्लंघन गरेको पाइएपछि विभागले निगरानी र कारबाही तीव्र बनाएको हो ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार नेपालमा प्रवेश गर्दा उल्लेख गरिएको उद्देश्य र वास्तविक गतिविधिबीच ठूलो अन्तर देखिएपछि विभिन्न विदेशी नागरिकमाथि अनुसन्धान र निगरानी बढाइएको छ । उहाँका अनुसार केही चिनियाँ नागरिकले पर्यटन वा व्यावसायिक भिसा लिएर नेपालमा दीर्घकालीन बसोबास गर्ने, कम्पनी तथा होटल दर्ता गरेर भिसा नवीकरण मात्र गर्ने, तर वास्तविक लगानी वा व्यावसायिक गतिविधि नगर्ने प्रवृत्ति बढेको पाइएको छ ।

‘नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकले भिसाको सर्त पालना गर्नैपर्छ । एउटा प्रयोजनका लागि भिसा लिएर अर्को गतिविधिमा संलग्न हुने, भिसाको अवधि नाघेर बस्ने वा कानुनविपरीत गतिविधि गर्ने जो–कोहीमाथि कारबाही हुन्छ,’ प्रवक्ता ढकालले भन्नुभयो–‘पछिल्लो समय निगरानी प्रणाली बलियो बनाइएकाले यस्ता गतिविधि नियन्त्रणमा ल्याउन सहज भएको छ ।’

विभागका अनुसार पछिल्ला महिनाहरूमा चिनियाँ नागरिक मात्र होइन, विभिन्न देशका नागरिक पनि कारबाहीको दायरामा परेका छन् । भिसा अवधि सकिएपछि नेपालमै लुकीछिपी बस्ने, अवैध व्यवसाय सञ्चालन गर्ने, धार्मिक गतिविधिमा संलग्न हुने, मानव बेचबिखन तथा अन्य शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकलाई जरिवाना, निष्कासन र निश्चित अवधिका लागि नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने कार्य भइरहेको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२५ मा मात्रै ५०१ विदेशी नागरिकलाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको थियो । तीमध्ये ४३७ जना पर्यटक भिसाको अवधि १५० दिनभन्दा बढी नाघेर बसेका कारण कारबाहीमा परेका थिए भने ६४ जना विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा निष्कासित भएका थिए । चिनियाँ नागरिक निष्कासित हुने सूचीमा सबैभन्दा अगाडि रहेको विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार बितेका ६ महिनामा मात्रै ३३३ विदेशी नागरिक विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । उनीहरूमध्ये केहीलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाइएको थियो भने अधिकांशलाई जरिवाना तथा प्रवेश प्रतिबन्धसहित स्वदेश फर्काइएको थियो ।

कारबाहीमा परेका विदेशी नागरिकहरूमा चीन, भारत, अमेरिका, दक्षिण कोरिया, बंगलादेश, पाकिस्तान, नाइजेरिया तथा अन्य अफ्रिकी र एसियाली मुलुकका नागरिक रहेका छन् । विभागले देशगत विस्तृत संख्या सार्वजनिक नगरे पनि चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी रहेको जनाएको छ । पछिल्ला वर्षहरूमा चिनियाँ नागरिक संलग्न साइबर अपराध, अवैध विवाह ब्युरो सञ्चालन, आर्थिक कारोबार तथा भिसा दुरुपयोगका घटनाले सुरक्षा निकायको चासो बढाएको छ ।

केही समयअघि दर्जनभन्दा बढी चिनियाँ नागरिकलाई व्यावसायिक भिसाको आवरणमा नेपालमा लामो समयदेखि बस्दै आएको अवस्थामा पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा उनीहरुले पटक–पटक भिसा नवीकरण गर्दै होटल तथा कम्पनी दर्ता गरे पनि वास्तविक विदेशी लगानी भित्र्याएको प्रमाण नदेखिएको विभागले जनाएको थियो । त्यस्तै नेपाली महिलालाई चीन पठाउने उद्देश्यले अवैध विवाह ब्युरो सञ्चालन गर्ने चिनियाँ नागरिकहरू पनि कारबाहीमा परेका थिए ।

अध्यागमन विभागका अधिकारीहरूका अनुसार विगतमा कानुन भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको थिएन । पर्याप्त अनुगमनको अभाव, विदेशी नागरिकको गतिविधि ट्र्याक गर्ने प्रणाली कमजोर हुनु तथा विभिन्न निकायबीच समन्वय नहुँदा ओभरस्टे र भिसा दुरुपयोगका घटना बढेका थिए । तर अहिले विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गरेर होटल, ट्राभल एजेन्सी, एयरलाइन्स, बैंक तथा दूरसञ्चार सेवाप्रदायकसँग सूचना आदानप्रदानको व्यवस्था थालेको छ । यसले विदेशी नागरिकको आवागमन र गतिविधि निगरानी गर्न सहज भएको विभागको दाबी छ ।

विभागका अनुसार नेपालमा अहिले पनि हजारौं विदेशी नागरिक विभिन्न प्रकारका भिसामा बसिरहेका छन् । उनीहरूमध्ये केहीको भिसा अवधि सकिएर पनि नवीकरण नगरेको, केहीले जरिवाना तिर्न बाँकी रहेको तथा कतिपयको अवस्थाबारे अनुसन्धान भइरहेको छ । अध्यागमन स्रोतका अनुसार ओभरस्टे गर्ने विदेशीको संख्या वर्षेनी बढ्ने–घट्ने भए पनि अहिले हजारौंको संख्यामा विदेशी नागरिक अध्यागमन निगरानी सूचीमा छन् ।

सुरक्षा तथा अध्यागमन विज्ञहरूका अनुसार नेपाल खुला र पर्यटकमैत्री मुलुक भए पनि भिसा प्रणालीको दुरुपयोगले राष्ट्रिय सुरक्षा,मानव बेचबिखन, साइबर अपराध तथा अवैध आर्थिक कारोबारको जोखिम बढाउन सक्छ । त्यसैले विदेशी नागरिकको आगमन, बसाइँ र गतिविधिबारे नियमित निगरानी आवश्यक रहेको उनीहरूको भनाइ छ ।

अध्यागमन विभागले भिसाको सर्त उल्लंघन गर्ने, अवधि नाघेर बस्ने वा नेपालमा गैरकानुनी गतिविधिमा संलग्न हुने विदेशी नागरिकमाथि आगामी दिनमा अझ कडा कारबाही गरिने जनाएको छ । विभागका अनुसार नेपाल भ्रमण,अध्ययन, व्यवसाय वा अन्य जुनसुकै प्रयोजनले आएका विदेशी नागरिकले कानुनको पूर्ण पालना गर्नुपर्नेछ, अन्यथा निष्कासनसहित प्रवेश प्रतिबन्धको सामना गर्नुपर्नेछ ।