काठमाडौं ।
आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर युवायुवतीहरूलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले मलेसिया र बेलारुस पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएका आरोपितहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।
कार्यालयका अनुसार नुवाकोट बेलकोटगढी नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने २६ वर्षीय बिशाल बानियाले मलेसिया पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई असार ८ गते काठमाडौं महानगरपालिका–१४ बाट पक्राउ गरिएको हो।
त्यसैगरी, काठमाडौं महानगरपालिका–१४ का रिजन खङ्गीलाई मलेसिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख ८५ हजार रुपैयाँ असुलेर ठगी गरेको आरोपमा असार ८ गते नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थायी घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएकी २३ वर्षीया प्रिन्सी शाहलाई बेलारुस पठाइदिने भन्दै एक जनाबाट २० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ। उनलाई असार ९ गते ललितपुर महानगरपालिका–४ बाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने आश्वासन दिएर पीडितहरूबाट रकम असुलेका थिए। तर, लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट बच्न विभागबाट स्वीकृति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन र कुनै व्यक्तिलाई व्यक्तिगत रूपमा रकम नदिन सर्वसाधारणलाई आग्रह गरिएको छ।











प्रतिक्रिया