काठमाडौं।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर तथा मातहत कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले जेन्जी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणबाट फरार भएका दुई जना लागूऔषध मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–९ निवासी २९ वर्षीय ज्ञानेन्द्र खड्का र बाराको परवानीपुर गाउँपालिका–२ निवासी ३० वर्षीय खदानन्द प्रसाद यादव रहेका छन्।
खड्का खैरो हेरोइन १९४.६४० ग्राम बरामद भएको मुद्दाका प्रतिवादी हुन्। उनीविरुद्धको मुद्दा २०८२ असार ८ गते लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा दर्ता भएको थियो। उक्त मुद्दा हाल अदालतमा विचाराधीन रहेको प्रहरीले जनाएको छ। उनलाई मोरङको पथरीशनिश्चरे नगरपालिका–९ बाट पक्राउ गरिएको हो।
त्यसैगरी यादव खैरो हेरोइन ७८ ग्राम बरामद भएको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भइसकेका प्रतिवादी हुन्। उनीविरुद्धको मुद्दा २०७९ चैत २० गते दर्ता भएको थियो। जेन्जी आन्दोलनका क्रममा फरार भएका उनलाई काठमाडौं महानगरपालिका–१४ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाइएको छ। जेन्जी आन्दोलनका क्रममा फरार भएका अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र रूपमा जारी रहेको जनाइएको छ।











प्रतिक्रिया