सीटीईभीटीका पूर्व कर्मचारीलाई पदको मोह

उपाध्यक्षमा २५ मध्ये ८ जना पूर्व कर्मचारी

940
Shares

  • सदस्य सचिवमा ४ जना

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद््को एक उपाध्यक्ष पदका लागि परिषद््का ८ जना पूर्व कर्मचारीसहित २५ जनाले निवेदन दिएका छन् । उपाध्यक्ष पदका लागि निवेदन दिनेको नामावलीमा भर्खरै राजिनामा दिनुभएका उपाध्यक्षका साथै लामो समय परिषद््मा जागिर खाएर अवकाश भएका कर्मचारीहरूको पनि नाम समावेश छ ।

परिषद्का पूर्व कर्मचारी एवं भर्खरै उपाध्यक्षबाट राजिनामा दिनुभएका मोहम्मत सफिउल्लाह, पूर्व निर्देशक उमेशकुमार मिश्र, टैलेन्द्र आचार्य, नागेन्द्र शाह, कुष्माकर भट्ट, सौरभराम जोशी, हेमन्त पराजुली र उपेन्द्र पोखरेल रहनुभएको छ । सरकारद्वारा गठित छनौट समितिले शुक्रवार सार्वजनिक गरेको नामावलीमा धादिङका विमला भट्टबाहेक सबै पुरुष छन् ।

उपाध्यक्षमा प्राडा काजिराम अधिकारी, रंजित ठाकुर, टामलाल खनाल, अर्जुनप्रसाद बास्तोला मोतीलाल चौधरी,पवनकुमार गुप्ता, डा. खेमराज जोशी,डा दीपेन्द्रकुमार यादव, शेषानन्द सञ्जेलको नाम सिफारिस भएको छ । त्यस्तै तुलसीराम भण्डारी, हरिशंकरप्रसाद शाह, विनोदकुमार यादव,डिलबहादुर बुर्जा मगर, राजबहादुर गिरी, गंगाप्रसाद यादव पनि सिफारिसमा पर्नुभएको छ । मन्त्रालयले सिफारिस भएका सबैलाई आफ्नो कार्ययोजना सार्वजनिक गर्न समय दिनेछ ।

सदस्य सचिवमा भने परिषद्कै ४ जना कर्मचारी अनोज भट्टराई, भुवनेश्वर ढुंगाना, प्रमोदभक्त आचार्य र विनोद बडालको नाम सिफारिस भएको छ । छनौट समितिले केही दिनभित्र उपाध्यक्ष र सदस्य सचिवको नाम सिफारिस गर्नेछ ।

सिफारिस समितिले जेठ २३ गते सूचना जारी गरेर दुई पदका लागि दरखास्त आह्वान गरेको थियो । त्यसकै आधारमा २५ जनाको नाम सिफारिस गरिएको हो । सिफारिससम्बन्धी कार्यविधि २०८३ अनुसार छनौटमा परेका उपाध्यक्ष र सदस्य सचिवले कार्ययोजना पेस गर्ने छन् । सोही आधारमा समितिले ३ जनाको नाम सिफारिस गर्नेछ ।

सोही सिफारिसको आधारमा परिषद्का अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नियुक्ति गर्नुहुनेछ । कार्यविधिअनुसार उपाध्यक्षका लागि न्युनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह हासिल गरेको हुनुपर्ने, इन्जिनियरिङ, कृषि, चिकित्सा शिक्षा,वन, शिक्षा प्रशासन तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको, ४० वर्ष उमेर पूरा भई ६० वर्ष ननाघेको र परिषद्बाट सम्बन्धन प्राप्त संस्था अर्थात् कलेजको सञ्चालक पदमा कार्यरत नरहेको हुनुपर्ने व्यवस्था गरेको छ ।

सदस्य सचिवको लागि परिषद्को अधिकृत प्रथम श्रेणीको पदमा पाँच वर्ष काम गरेको कर्मचारी हुनुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयले सबै उम्मेद्वारको विषयमा अध्ययन गरेर ७ दिनभित्र रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । प्रस्तुतीकरणमा परिषद्को सबल र कमजोर, अवसर र चुनौती विश्लेषणसहितको सुधार योजना प्रस्तुत गर्नुपर्नेछ । उपाध्यक्षको प्रस्तुतीकरणको २० र अन्तर्वार्ताको १० गरी ३० अंकको हुनेछ भने सदस्य सचिवको प्रस्तुतीकरण र अन्तर्वार्तावापत ३५ अंक हुने व्यवस्था गरेको छ ।

कार्यविधिअनुसार दुवै पदमा ३–३ जनाको नाम मन्त्रालयमार्फत सरकारसमक्ष पेश गरिने व्यवस्था छ । सोही आधारमा मन्त्रिपरिषद्को बैठकले १–१ जना नियुक्ति गर्ने व्यवस्था छ । हाल दरखास्त दिनेमा अधिकांशले व्यावसायिक विषय अध्ययन गरेका छन् ।