एमाले उपाध्यक्ष पौडेल सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको छ । पार्टी कार्यक्रमका सिलसिलामा सुर्खेत पुग्नुभएका पौडेललाई सुर्खेतबाटै पक्राउ गरिएको हो । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठनको सुझाव संकलन गरिरहेको छ र सोही कार्यक्रममा सहभागी हुन उहाँ सुर्खेत पुग्नु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराका अनुसार पौडेललाई साँझ सवा ५ बजे वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २१ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको भन्दै पक्राउ गरेर उपस्थित गराइदिन सुर्खेत प्रहरीलाई अनुरोध गर्दै पत्र र इमेल पठाएको थियो ।
सम्पत्ति शुद्धीकरण विभागका अनुसार पौडेललाई सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतसम्बन्धी अनुसन्धानको क्रममा पक्राउ गरिएको हो । विभाग स्रोतले भन्यो– ‘उहाँको सेयर कारोबार र अन्य सम्पत्तिको स्रोतबारे अनुसन्धान भइरहेको थियो । सोही अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।’

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनले अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने अधिकार प्रदान गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार कुनै व्यक्तिसँग भएको सम्पत्तिको स्रोत कानुनी हो वा होइन भन्ने प्रमाणित गर्ने दायित्व सम्पत्ति धनीको हुन्छ ।
प्रहरी स्रोतका अनुसार उहाँलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको हो । हाल उहाँलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उहाँलाई हवाई वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ ।

पौडेल एमालेका उपाध्यक्ष मात्र नभई पूर्व अर्थमन्त्रीसमेत भएकाले यस घटनाले राजनीतिक क्षेत्रमा हलचल ल्याएको छ । एमालेले अहिले पार्टी पुनर्गठनको तयारी गरिरहेको अवस्थामा शीर्ष नेतामाथि नै यस्तो कारबाही हुनुले पार्टीभित्र तरंग पैदा गरेको छ ।

सम्पत्ति शुद्धीकरण विभागले पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र क्षेत्राधिकार प्राप्त निकायसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार पौडेललाई सुर्खेतबाट काठमाडौं ल्याएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताइएको छ ।