अन्तराष्ट्रिय फादर्स डेमा बलिउड सेलिब्रेटीले भावुक हुँदै सम्झिए आफ्‌ना पिता


आज आम सर्वसाधारणदेखि बलिउड सेलिब्रिटीसम्म सबैले फादर्स डे (पिता दिवस) मनाइरहेका छन्। सामाजिक सञ्जालमा धेरै कलाकारहरूले आफ्ना पिताप्रति प्रेम, सम्मान र सम्झना व्यक्त गर्दै भावुक सन्देशहरू साझा गरेका छन्।”

अभिनेत्री काजोलले आफ्ना दिवंगत पिता शोमु मुखर्जी र आमा तनुजाको पुरानो तस्वीर साझा गर्दै लेखेकी छन्, “पुराना तस्वीरहरू हेर्दा महसुस हुन्छ कि मेरो हाँसोमा तपाईं आज पनि जीवित हुनुहुन्छ। तपाईंको हरेक दिन सम्झना आउँछ, बुबा। ह्याप्पी फादर्स डे।” यस्तै, हुमा कुरैशीले आफ्ना पितासँगका तस्वीरहरू पोस्ट गर्दै भावुक सन्देश लेखेकी छन्। उनले बाल्यकालमा पितालाई सबै प्रश्नको उत्तर थाहा हुने व्यक्तिका रूपमा हेरे पनि ठूलो भएपछि उहाँ पनि जीवनका संघर्ष र जिम्मेवारीसँग जुधिरहेको एक साधारण मानिस भएको महसुस भएको बताएकी छन्।

अर्की अभीनेत्री ईशा देओलले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत पिता धर्मेन्द्रलाई सम्झँदै “लभ यू पापा” लेखेकी छन्। अभिनेता राजपाल यादवले आफ्ना छोरीहरूसँगको तस्वीर साझा गर्दै जीवनमा धेरै पात्र निभाए पनि ‘पापा’को भूमिका सबैभन्दा विशेष र प्रिय रहेको उल्लेख गरेका छन्। अनन्या पाण्डेले पनि पिता चंकी पाण्डेसँगको पुरानो तस्वीर पोस्ट गर्दै “ह्याप्पी फादर्स डे पापा” लेखेकी छन्।

यसैगरी, करण देओलले आफ्ना पिता सनी देओलका नाममा भावुक पोस्ट साझा गरेका छन्। उनी हाल सनी देओलसँग फिल्म ‘बँटवारा १९४७’ मा अभिनय गरिरहेका छन्। ज्याकी श्रॉफकी छोरी कृष्णा श्रॉफले पनि फादर्स डेका अवसरमा पुरानो पारिवारिक तस्वीर साझा गरेकी छन्, जसमा ज्याकी श्रॉफ, टाइगर श्रॉफ र कृष्णा एकसाथ देखिएका छन्।

अभिनेता संजय दत्तले आफ्ना दिवंगत पिता सुनील दत्तलाई सम्झँदै लेखेका छन्, “पापा, म तपाईंलाई धेरै माया गर्छु। तपाईंको धेरै सम्झना आउँछ। काश, तपाईं यहाँ हुनुहुन्थ्यो। तपाईं मेरो शक्ति हुनुहुन्छ र सधैं रहिरहनुहुनेछ।” फादर्स डेका अवसरमा बलिउड कलाकारहरूले साझा गरेका यी सन्देशहरूले पिता र सन्तानबीचको गहिरो सम्बन्ध, प्रेम र सम्मानलाई झल्काएका छन्।