काठमाडौं
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित राष्ट्रिय फिल्म पुरस्कार २०८३ समारोहमा नेपाली फिल्म क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने कलाकार, प्राविधिक तथा सर्जकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा सम्मान वितरण गरेका थिए।
यस वर्ष उत्कृष्ट फिल्म पुरस्कार ‘उनको स्वीटर’ ले जित्न सफल भएको छ। सोही फिल्मका नबिन चौहान उत्कृष्ट निर्देशक तथा मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।
फिल्म क्षेत्रको दीर्घकालीन योगदानको कदरस्वरूप वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ लाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ। उक्त सम्मानसँग रु. ३ लाख ७५ हजार नगद समेत प्रदान गरिएको छ।‘परान’ फिल्मका लागि नीर शाह उत्कृष्ट अभिनेता तथा दीपक प्रसाद आचार्य र यम थापा उत्कृष्ट लेखक घोषित भए। ‘कोशेढुंगा’ का बाबु श्रेष्ठ उत्कृष्ट छायाङ्कन र नहकुल खड्का उत्कृष्ट सम्पादनतर्फ पुरस्कृत भए।त्यसैगरी, नेपाल भाषा फिल्म ‘इन्दिरा धिमे मैचा’ ले उत्कृष्ट आदिवासी फिल्म पुरस्कार प्राप्त गर्यो भने ‘नाक्छोङ’ लाई विशेष फिल्म पुरस्कार प्रदान गरियो।
जुरी प्रोत्साहन पुरस्कार आना शर्मा (रमिताको पिरती) र बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी) लाई प्रदान गरिएको थियो।
समारोहमा फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ। सम्मानित हुनेहरूमा फिल्म प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता/प्रदर्शक डा. सिंह गुरुङ, पत्रकार प्रकाश सुवेदी, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, अभिनेत्री एञ्जिला सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता बिनोद सेरचन तथा प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे रहेका छन्।
यसैबीच, फिल्म पत्रकार संघ नेपालका पूर्व अध्यक्ष तथा पत्रकार स्वर्गीय दिनेश सिटौला लाई मरणोपरान्त रु. ५० हजार नगदसहित विशेष सम्मान प्रदान गरिएको छ। नेपाली फिल्म पत्रकारिता र फिल्म क्षेत्रको प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक फिल्म विकास बोर्डले जनाएको छ।कार्यक्रममा कलाकार देविका बन्दना र नरहरी प्रेमी ले सांगीतिक प्रस्तुति दिएका थिए। फिल्म विकास बोर्डको आयोजनामा सम्पन्न समारोहमा फिल्मकर्मी, पत्रकार तथा सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।











प्रतिक्रिया