८ जुन १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ लाई रिलिज भएको २७ वर्ष पूरा भएको छ। यस फिल्ममा ऐश्वर्या राय, सलमान खान र अजय देवगन मुख्य भूमिकामा देखिएका थिए। रातो–पहेंलो रङले सजिएको गुजराती आँगन, शहनाईको गुञ्जन, साँझको सुनौलो उज्यालो र नन्दिनी–समीरको प्रेमकथा ‘हम दिल दे चुके सनम’ केवल एउटा फिल्म मात्र होइन, ९० को दशकको सबैभन्दा सुन्दर सिनेमाई सम्झनामध्ये एक थियो। तर पर्दामा देखिएको यो जादुमय संसार पछाडि धेरै रोचक निर्णय, कथा र चकित पार्ने संयोगहरू लुकेका थिए। सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको यो फिल्मलाई दर्शकहरूले निकै माया गरे। यसको संगीत पनि निकै हिट रह्यो। आउनुहोस्, ती कथाहरू बुझौँ जसले ‘हम दिल दे चुके सनम’ लाई एक अमर प्रेमकथा बनायो।
कथाको समानता : फिल्मको मूल कथालाई १९८३ को फिल्म ‘वो सात दिन’ सँग तुलना गरिन्छ। त्यो फिल्ममा पनि श्रीमानले आफ्नी पत्नीलाई उसको पुरानो प्रेमीसँग भेट गराउने प्रयास गर्छन्। तर भन्सालीले यसलाई आफ्नो शैलीमा प्रस्तुत गरे।
क्लाइमेक्स परिवर्तन गर्ने चर्चा : केही रिपोर्ट अनुसार सलमान खानले फिल्मको अन्त्य परिवर्तन गर्न चाहेका थिए, तर निर्देशक भन्साली आफ्नो मूल क्लाइमेक्समै अडिग रहे, जहाँ नन्दिनीले आफ्नो पतिसँगै बस्ने निर्णय गर्छिन्।

ऐश्वर्या रायको छनोट : राजा हिन्दुस्तानी’ को स्क्रिनिङका क्रममा सञ्जय लीला भन्सालीले ऐश्वर्या रायलाई भेटेका थिए। ऐश्वर्याले उनको कामको प्रशंसा गरेपछि भन्सालीले उनलाई नन्दिनीको भूमिकाका लागि छनोट गरे। उनले ऐश्वर्याको आँखामा विशेष चमक देखेको बताएका थिए।
अजय देवगन पहिलो रोजाइ थिएनन् : वनराजको भूमिकाका लागि सुरुमा आमिर खान, शाहरुख खान र सञ्जय दत्तलाई प्रस्ताव गरिएको थियो। तर अन्ततः यो भूमिका अजय देवगनले पाए र उनले उत्कृष्ट अभिनय गरे।
फिल्मको नाम परिवर्तन :सुरुमा फिल्मको नाम ‘दिल तो हमने दिया सनम’ राखिएको थियो, पछि परिवर्तन गरेर ‘हम दिल दे चुके सनम’ राखियो, जुन पछि निकै प्रसिद्ध बन्यो।
विदेशी बजारको नाम : भारतमा यो फिल्म ‘हम दिल दे चुके सनम’ नामले रिलिज भयो, तर अन्तर्राष्ट्रिय बजारमा यसलाई ‘Straight From the Heart’ नामले रिलिज गरिएको थियो।
छायांकन स्थान : फिल्ममा इटाली देखाइएका धेरै दृश्य वास्तवमा हंगेरीको राजधानी बुडापेस्टमा खिचिएका थिए।

समीरको पात्रको प्रेरणा : फिल्ममा समीरले आफ्नो दिवंगत पितासँग आकाशतर्फ हेरेर कुरा गर्ने बानी निर्देशक भन्सालीको बाल्यकालीन अनुभवबाट प्रेरित भएको बताइन्छ।
दृश्यहरूलाई चित्रजस्तै बनाउने प्रयास : भन्सालीले नन्दिनीको घरलाई जीवित चित्रजस्तै देखाउन सेट डिजाइन, रङ चयन, पोशाक र प्रकाश व्यवस्थामा महिनौँ काम गरेका थिए। यही कारण फिल्मको दृश्य अत्यन्तै सुन्दर देखिन्छ।
‘तडप तडप’ गीतको कथा : यो गीत सुरुमा अर्को फिल्मका लागि बनाइएको थियो। पछि संगीतकार इस्माइल दरबारले यसलाई ‘हम दिल दे चुके सनम’ मा समावेश गरे र यो फिल्मको सबैभन्दा लोकप्रिय गीत बन्यो।
‘निम्बुडा’ गीतको छायांकन : गीत ‘निम्बुडा निम्बुडा’ को छायांकनका क्रममा ऐश्वर्या रायको खुट्टा सुन्निएको थियो, तर पनि उनले नृत्य पूरा गरिन्।











प्रतिक्रिया