रक्षा मन्त्रालयको रातो किताब नपाएको भन्दै संसदमा प्रश्न, आज विनियोजन विधेयक पारित हुने


काठमाडौं ।

प्रतिनिधिसभामा आज बजेटमाथिको मन्त्रालयगत छलफल सकिएपछि विनियोजन विधेयक २०८३ पारित गर्ने तयारी गरिएको छ। तर, रक्षा मन्त्रालयको बजेटसम्बन्धी रातो किताब सांसदहरूलाई उपलब्ध नगराइएको भन्दै संसदमा प्रश्न उठेको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बिहानसम्म पनि रक्षा मन्त्रालयको खर्च विवरण पुस्तिका प्राप्त नभएको भन्दै सरकारसँग स्पष्टीकरण माग गरेका छन्। उनले रक्षा मन्त्रालयको बजेट पुस्तिका किन उपलब्ध नगराइएन भन्ने विषयमा जवाफ दिनुपर्ने बताएका छन्।

आजको बैठकमा प्रधानमन्त्रीसहित विभिन्न मन्त्रीहरूले मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। त्यसपछि विभिन्न मन्त्रालयका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछन्।

२० वटा खर्च कटौती प्रस्तावमाथि निर्णय भएपछि विनियोजन विधेयक २०८३ का दफाहरू पारित गरिने र अन्त्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।