काला हिरण विवाद चर्कियो : गोविन्द नामदेवसँग ५० लाख क्षतिपूर्ति माग, सलमान पनि अदालत पुगे


काठमाडौ ।

बलिउड अभिनेता सलमान खानको चर्चित सन् १९९८ को कालो हरिण शिकार प्रकरणमा आधारित भनिएको फिल्म ‘काला हिरण: द ब्याटल फर लेगेसी’ यतिबेला गम्भीर विवादमा तानिएको छ। फिल्मका निर्माता अमित जानी र वरिष्ठ अभिनेता गोविन्द नामदेवबीच सार्वजनिक आरोप–प्रत्यारोप सुरु भएपछि विवाद थप चर्किएको हो।

निर्माता अमित जानीले अभिनेता गोविन्द नामदेवलाई कानुनी नोटिस पठाउँदै सात दिनभित्र सार्वजनिक रूपमा माफी माग्न र प्रोडक्सन हाउसलाई ५० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्न माग गरेका छन्। जानीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।

यो कदम गोविन्द नामदेवले आफूलाई झुक्याएर फिल्ममा अनुबन्ध गरिएको आरोप लगाएपछि चालिएको हो। एक अन्तर्वार्तामा नामदेवले फिल्मको टिजर हेरेपछि आफू स्तब्ध भएको बताएका थिए। उनका अनुसार सुरुमा निर्माताहरूले फिल्म धार्मिक विषयमा आधारित हुने र यसको नाम ‘सम्भल’ रहने बताएका थिए। पछि फिल्मको नाम परिवर्तन गरी ‘काला हिरण’ राखिएको र सलमान खानसँग सम्बन्धित अदालतका दृश्य मात्र समावेश हुने जानकारी दिइएको उनको दाबी छ।

नामदेवले आफूलाई वास्तविक कथावस्तु नबताई प्रयोग गरिएको आरोप लगाएका छन्। सलमान खानसँग आफ्नो लामो समयदेखिको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उनले ‘वान्टेड’ लगायतका फिल्ममा सँगै काम गरेको स्मरण गरे। सलमानलाई गलत ढंगले चित्रण गर्ने वा उनको छविमा असर पुग्ने कुनै परियोजनाको हिस्सा आफू बन्न नसक्ने उनले स्पष्ट पारेका छन्। फिल्मको वास्तविक विषयवस्तु थाहा पाएको भए आफूले सुरुमै प्रस्ताव अस्वीकार गर्ने उनको भनाइ छ।

यता निर्माता अमित जानीले नामदेवका आरोपहरू पूर्ण रूपमा निराधार रहेको बताएका छन्। उनका अनुसार गोविन्द नामदेवले फिल्ममा हस्ताक्षर गर्नुअघि सम्पूर्ण स्क्रिप्ट पढेका थिए र अदालतसँग सम्बन्धित दृश्यहरूको सुटिङसमेत पूरा गरिसकेका छन्। जानीले सम्झौताविपरीत फिल्मको छवि बिगार्ने प्रयास गरिएको आरोप लगाउँदै नामदेवले आफूहरूलाई धोका दिएको दाबी गरेका छन्।

निर्माताले नामदेवलाई फिल्मको सिक्वेलका लागि समेत अनुबन्ध गरिसकेको दाबी गर्दै अहिले सलमान खानको पक्षमा देखिनका लागि मात्र अभिनेता फिल्मबाट दूरी बनाउन खोजिरहेको आरोप लगाएका छन्।

विवाद कलाकारहरूबीच मात्र सीमित छैन। सलमान खानको कानुनी टोलीले पनि फिल्मका निर्माताहरूलाई नोटिस पठाइसकेको छ। सलमान पक्षले फिल्मले आफ्नो ‘पर्सनालिटी राइट्स’ अर्थात् व्यक्तिगत छविसम्बन्धी अधिकार उल्लंघन गरेको दाबी गर्दै निर्माण, विकास र प्रचारप्रसारका गतिविधिमा तत्काल रोक लगाउन माग गरेको छ।

यस विषयमा सलमान खानले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन्, जसको सुनुवाइ जुन १९ मा हुने तय भएको छ। अदालतमा दायर निवेदनमा फिल्म र यसका प्रचार सामग्रीहरू सन् १९९८ को कालो हरिण शिकार प्रकरणबाट प्रेरित रहेको उल्लेख गरिएको छ।

फिल्ममा सलमान खानको नाम प्रत्यक्ष रूपमा प्रयोग नगरिए पनि टिजरमा देखाइएको ‘अयान खान’ नामक पात्रको स्वरूप, शैली र व्यक्तित्व सलमानसँग अत्यन्त मिल्दोजुल्दो रहेको दाबी गरिएको छ। पोस्टरमा समेत सलमानको पहिचानसँग जोडिने नीलो ब्रेसलेटजस्तै सामग्री प्रयोग गरिएको उल्लेख छ।

सलमान पक्षले अदालतसँग विवादको अन्तिम टुंगो नलागेसम्म फिल्मका टिजर, ट्रेलर, पोस्टर तथा अन्य प्रचार सामग्रीको प्रकाशन र प्रसारण रोक्न तथा फिल्मको प्रदर्शनसमेत स्थगित गर्न माग गरेको छ।

जानी फायरफक्स फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो फिल्म भारत एस श्रीनेतले निर्देशन गरिरहेका छन्। फिल्म रिलिजअघि नै कानुनी विवादमा फसेपछि यसको भविष्यबारे बलिउडमा व्यापक चर्चा सुरु भएको छ।

Skip This