कुमकुम भाग्य अभिनेत्री सञ्चिता उगलेको निधन, घरमै झुण्डिएको अवस्थामा शव फेला


भारतीय टेलिभिजन अभिनेत्री सञ्चिता उगलेको ३० वर्षको उमेरमा निधन भएको छ। आइतबार साँझ मुम्बईको नालासोपारा पूर्वस्थित आफ्नै घरमा उनी झुण्डिएको अवस्थामा मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीका अनुसार सञ्चिता आचोले गाउँस्थित घरमा आफ्ना आमाबुवा र १५ वर्षीया बहिनीसँग बस्दै आएकी थिइन्। आइतबार साँझ करिब ७ देखि ७:३० बजेको बीचमा घरमा एक्लै रहेका बेला उनले साडीको सहायताले सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि परिवारका सदस्यहरूले उनलाई तत्काल तुलिंज महानगरपालिका अस्पताल पुर्‍याएका थिए। तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। त्यसपछि परिवारले प्रहरीलाई घटनाबारे जानकारी गराएको थियो।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। हालसम्म घटनास्थलबाट कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा ‘एक्सिडेन्टल डेथ रिपोर्ट’ (एडीआर) दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

सञ्चिता टेलिभिजन र फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री थिइन्। उनले लोकप्रिय धारावाहिक कुमकुम भाग्य’ र वागले की दुनिया मा अभिनय गरेकी थिइन्। यस्तै, विक्की कौशल अभिनीत चर्चित फिल्म ‘छावा’ मा उनले ताराबाईको भूमिका निर्वाह गरेकी थिइन्। विभिन्न टेलिभिजन कार्यक्रम र चलचित्रमार्फत दर्शकमाझ परिचित बनेकी सञ्चिताको असामयिक निधनले भारतीय मनोरञ्जन क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ।