विश्वमा आएको स्वास्थ्य चेतना क्रान्तिसँगै संसारमा प्रविधिको विकास र विभिन्न किसिमका उपचार पद्धति विकास भएको छ । त्यस क्रममा नेपालमा पनि रक्तसञ्चार स्वास्थ्य सेवाको शुरूवात भएको हो । यसै कुराको सिलसिलामा नेपालका प्रथम रक्तदाता एवं समाज सेवाका अग्रणी पिता स्व. दयावीर सिंह कंसाकारको नाम बिर्सन सकिंदैन । नेपालमा रक्तसञ्चार सेवाको शुरूवात वि.सं. २०२३ मा लक्ष्मी ब्लड बैंकबाट शुरू भएको हो ।
सो समयमा स्वयंसेवी रक्तदाताभन्दा रगतको व्यापार गर्ने वा पेसेवर रक्तदाताहरूले रगत दिने गरेको थिए । यस्ता डोनरबाट दिइएको रगत स्वस्थ तथा सुरक्षित हुनेमा निकै आशंका थियो । उक्त समयमा विभिन्न रक्तदान गर्ने संस्थाहरूको स्वयंसेवीहरूबाट व्यक्तिहरूलाई निरूत्साहित गर्ने गरिन्थ्यो । २०३८ सालमा आएर नेपालमा पेसेवर रक्तदाताहरूलाई प्रतिबन्ध लगाइएको थियो । सो पश्चात् नेपालमा स्वयंसेवी रक्तदाता र बिरामीका आफन्तहरूबाट सोधभर्नाका लागि मात्र रक्तदान लिन÷दिन थालियो ।
नेपालमा रक्तसञ्चारको आवश्यकतालाई दृष्टिगत गरी रगत आवश्यक पर्ने बिरामी, सुत्केरी तथा दुर्घटनामा परेका व्यक्तिहरूलाई रगतको अभावको कारण अकाल मृत्यु हुनबाट जोगाउन रक्तदानको महत्वलाई बोध गराउँदै सर्वसाधारणलाई स्वयंसेवी र रक्तदान गराउने विशुद्ध उद्देश्यले वि.सं. २०४६ मा ब्लड डोनर्स क्लब स्थापना भई वि.सं २०४९ देखि ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को नाममा सञ्चालन हुँदै आइरहेको छ ।
ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) रगत आवश्यक पर्ने बिरामीहरूलाई विनाझन्झट स्वयंसेवी रक्तदाताहरूबाट सुरक्षित रगत उपलब्ध गराउन सक्ने अवस्था सिर्जना गर्न नेपाल सरकार र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवासँग सहकार्य गर्दै आइरहेको राष्ट्रिय रक्तदान कार्यक्रमहरूको प्रमुख अंग एवं देशभरका स्वयंसेवी रक्तदाताहरू र रक्तदानसम्बन्धी कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरूको छाता संगठनको रूपमा विगत अढाई दशकदेखि कार्यरत स्वयंसेवा संगठन हो ।
रगतविना कुनै पनि प्राणी बाँच्न असम्भव छ । रगतको आवश्यकता शल्यक्रिया गर्नुभन्दा अगाडि, गरिरहेको समयमा तथा गरेपछि पर्न सक्छ । दुर्घटना एवं चोटपटकबाट बढी रक्तश्राव भएमा, महिलाहरू सुत्केरीको समयमा, क्यान्सरका बिरामीहरूका लागि रगत आवश्यक पर्दछ । यसका साथै रगतसम्बन्धी रोगहरू जस्तै– हेमोफिलिया, रक्तअल्पता, थालेसिमिया आदि भएका बिरामी, रक्तसम्बन्धी रोग भएका नवजात शिशुहरू र पोलिएका बिरामीहरूमा रगतको आवश्यकता पर्दछ ।
रक्तदान गर्नका लागि व्यक्ति मानसिक रूपमा तयार हुनुपर्छ । १८ देखि ६५ वर्ष उमेरसम्मका, शरीरको तौल कम्तीमा ४५ किलो भएका र हेमोग्लोबिन १२.५ ग्राम प्रतिशत तथा सोभन्दा माथि भएका व्यक्तिले रक्तदान गर्न सक्छन् । त्यस्तै रक्तचाप मुनिको ७० देखि ९० सम्म र माथिको ११० देखि १४० सम्म भएको र रगतसम्बन्धी कुनै रोगहरू नभएको हुनुपर्छ । पहिला रक्तदान गर्नुभएको कम्तीमा ३ महिना पूरा भएको, रक्तदान गर्नुभन्दा अगाडि केही खाएको र शरीरले पूरा आराम महसुस गरेको हुनुपर्छ । रक्तदान नजिकको रेडक्रसका सेवाहरूमा, रक्तदान कार्यक्रम आयोजना भएको ठाउँहरूमा वा रक्तदान गर्ने सुविधा भएका अस्पतालहरूमा गर्न सकिन्छ, जसमा ५ देखि ७ मिनेट समय लाग्छ ।
रक्तदान गरेपछि आत्मसन्तुष्टि पाइने, निःशुल्क स्वास्थ्य परीक्षण हुने, नितान्त मानवीय कार्य हुने, सबैभन्दा ठूलो पुण्य प्राप्त हुने र रगतसम्बन्धी रोगहरूबाट बच्न सकिने फाइदाहरू छन् । रक्तदानपश्चात् केही समय आराम गर्नुपर्छ, झोल, फलफूल तथा जुस खानुपर्छ । कम्तीमा तीन–चार घण्टासम्म धूमपान तथा मद्यपान गर्नुहुँदैन भने कम्तीमा एक–दुई घण्टासम्म चर्को घाममा बस्ने, दौडिने गर्नुहुँदैन ।
तर क्यान्सर, मधुमेह, मृगौला तथा कलेजोका बिरामी, उच्च जोखिमयुक्त व्यवहारमा लागेका, रक्तचाप उच्च तथा न्यून भएका, दम तथा मुटुरोग भएका व्यक्तिहरूले रक्तदान गर्न मिल्दैन । त्यस्तै महिलाहरूमा महिनावारी भएको ८ दिनसम्म, सुत्केरी तथा स्तनपान गराइरहेका महिलाहरू, एचआईभी तथा हेपाटाइटिसलगायत रगतसम्बन्धी बिरामीहरू र औषधि सेवन गरिरहेका व्यक्तिहरूले पनि रक्तदान गर्न हुँदैन ।
केही निश्चित अवस्थामा भने तोकिएको अवधिसम्म रक्तदान गर्न सकिँदैन । जस्तै– पछिल्लोपटक दिएको ३ महिना नपुगेसम्म, गर्भपतन गरेको अवस्थामा ६ महिनासम्म, टाइफाइड भएमा निको भएको १ वर्षसम्म, टाटु खोपेको तथा अकुपन्चर गरेको १ वर्षसम्म, रेबिजविरूद्ध खोप लिएको १ वर्षसम्म, हेपाटाइटिस बी र सी देखिएकाहरूमा निको भएको १ वर्षसम्म, क्षयरोग भएका व्यक्तिहरू उपचार पूरा भएको १ वर्षसम्म र कोरोनाविरूद्ध खोप लिएको १४ दिनसम्म । त्यस्तै बच्चाहरूलाई स्तनपान गराइरहेका आमाहरू १ वर्षसम्म, सानो शल्यक्रिया गरेको ३ महिना तथा ठूलो शल्यक्रिया गरेको १ वर्षसम्म र छारेरोग भएका व्यक्तिहरूमा निको भएको ३ महिनासम्म रक्तदान गर्न सकिँदैन ।
रक्तदान कार्यमा भावनात्मक पक्षहरूले ज्यादै असर गरेको हुन्छ । त्यसैले सही उत्प्रेरकको निर्माण र नियमित स्वस्थ रक्तदाताको निर्माणको लागि सबै सरोकार पक्षको सहकार्य अपरिहार्य रहँदै आएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय कार्यक्रम ‘मानवताको एक थोपा रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने नाराका साथ आयोजना हुँदै छ । नेपाल सरकार संरक्षक भई नेपालमा रक्तदान कार्यक्रमको स्वामित्व लिएर नेतृत्वदायी भूमिका खेल्नुपर्छ । सरकारद्वारा प्रभावकारीरूपमा अनुगमन, मूल्याङ्कन, अनुसन्धान, पर्यवेक्षणलगायत राष्ट्रिय रक्तदान कार्यक्रमको समग्र परीक्षण हुनुपर्छ ।
रक्तसञ्चार केन्द्रहरूमा आवश्यकताभन्दा बढी रगत माग गर्ने, समयमै प्रयोग नगर्ने, उचित तापक्रममा भण्डारण नगर्ने, म्याद सकिन लाग्दा पनि व्यवस्था गर्न नसक्ने र कतिपय अवस्थामा पारदर्शिताको अभाव देखिने समस्या विद्यमान छ । यसको प्रत्यक्ष असर बिरामीको उपचारमा मात्र होइन, रक्तदाताको भावनामा समेत पर्ने गरेको छ । रगत कुनै कारखानामा उत्पादन हुने वस्तु होइन, यो त मानिसको शरीरबाट निस्किएको जीवनको अंश हो । त्यसैले यसको प्रत्येक थोपाको सम्मान, सुरक्षा र जिम्मेवारीका साथ प्रयोग हुनुपर्छ ।
(लेखक श्रेष्ठ ब्लड डोनर्स एसोसिएसन नेपालका अध्यक्ष हुनुहुन्छ ।)











प्रतिक्रिया