प्रधानमन्त्रीलाई अनुरोध : जित्नका लागि ‘बन्द होइन खुला शासन व्यवस्था चाहिन्छ’ 

1.22k
Shares

सम्माननीय प्रधानमन्त्रीज्यू, 

जुन बेला तपाईं  राजनीतिमा प्रवेश गर्दै हुनुहुन्थ्यो, त्यो बेला तपाईंमा राजनीतिक अनुभव थिएन, तर राजनीतिक चेतना र हिम्मत थियो । त्यही चेतना र हिम्मतलाई कदर गर्दै महानगरवासिले तपाईंलाई मेयरमा निर्वाचित गराए । पार्टीहरुको अमर्यादित राजनीतिले तपाईँको जितलाई स्वभाविक बनाएको थियो । तेरो मेरो नभनी नीति, विधि र थिती अनुसार काम हुनुपर्छ भन्नु नै जितको अर्को आधार हो । त्यो जितलाई हिम्मतमा परिणत गर्नुभयो जुन प्रशंसनीय छ । 

नीति र विधिलाई समातेर काम गर्ने व्यक्ति कुनै अवरोध र असहयोगबाट गल्दैन । आलोचनाबाट भाग्दैन । नीतिको अनुशरण गर्नु असल राजनीतिक संस्कार हो । जसरी ‘बोल्ने होइन गर्ने हो’ लाई विकासको बटमलाईन बनाउन सकिन्छ त्यस्तै ‘असल संस्कार’ लाई मर्यादित राजनीतिको बटमलाईन । वास्तवमा असल राजनीतिक संस्कार राजनेता जन्माउने कारखाना हो । 

समय अगाडि बडिसक्यो । मेयरबाट प्रधानमन्त्री हुनुभयो । एउटा नगरको होइन पुरा देशको अविभावक बन्नु भएको छ । अब तपाईले गर्ने हरेक क्रियाकलापले यो देशको गति निर्धारण हुन्छ । सडकदेखि संसदसम्मको आवाजले तपाईँको प्रतिध्वनी खोजेको हुन्छ । हो, तपाई बोलेर भन्दा गरेरै देखाउँने भनेर लाग्नु भएको छ । देशले खोजेको प्रधानमन्त्री पनि त्यस्तै हो । तर त्यति मात्र पर्याप्त होइन, तपाई ‘बोल्दै–गर्दै’ अगाडि बड्नु पर्छ । संसदको अवरोध देशको लज्जाको विषय हो । जनमतको अपमान हो । समयको बर्बादि हो । त्यसैले संसदको यो मर्यादाबिहिन अवस्था तपाईँको उपस्थितिले मात्र हटन सक्छ । त्यसकारण तपाई लचिलो हुँनै पर्दछ । ओली, देवा र प्रचण्ड प्रबृत्तिको भारी बोक्नु भयो भने त्यसले भोली तपाईलाई थिच्ने छ । तल्लो सदनमा बहुमत होला माथिल्लोमा छैन । ‘पेलेरै’ जाँदा भोली अदालती अवरोध आउन सक्छ । तसर्थ लचक हुनुस्, खुला हुनुस् र समस्या समाधानमा अग्रसर हुनुस्, अहमता त्याग्नुस यसमा तपाईँको जित छ ।   

जनताको भरोषा टुटेको दिन जनविद्रोहको जन्म हुन्छ । विद्रोहको रापले अन्ततः अहंकारको सत्तालाई खरानीमा परिणत गराउँछ । हामीले देखेको भदौ २३–२४ त्यसैको ज्वलन्त उदाहरण हो । विगतबाट हामीले यो सिक्नै पर्छ । जनभावनाको कदर गर्ने थलो संसद हो, कार्यपालिका संसदप्रति जति उत्तरदायि हुन्छ त्यति सफल हुन्छ । देशको आर्थिक, सामाजिक र राजनीति विकासका लागि यसको सन्तुलन आवश्यक छ । 

गणतन्त्र नेपालको कान्छो प्रधानमन्त्री तपाईं  भविष्यको मानक बन्नुहोस् । सल्लाह सुझावको संस्कृति विकास गर्दै रिस–राग र अहंकार त्यागेर भातृत्व र सदभाव बडाउनुहोस् । अधिकार माग्ने ठाउँबाट अधिकारी दिने ठाउँमा पुग्दा लचिलो हुनै पर्छ, झुक्नै पर्छ तब न प्रधानमन्त्री सफल हुन्छ । सल्लाह सुझाव ग्रहण गर्नुहुने नै छ भन्ने आशा राख्दै प्रधानमन्त्रीज्यूलाई सफल कार्यकालको असिम शुभकामना । 

बन्द होइन खुला शासन व्यवस्था होस्   

बन्द व्यवस्था जटिल र निर्मम हुन्छ । नेपाली समाज हिन्दु वर्ण व्यवस्थामा आधारित बन्द समाज हो । जहाँ जात र धर्मका आधारमा विभेद र असमानता कायम छ । नीयम र कानूनले जति खुला गर्न खोजे पनि हामी भित्र गडेर रहेको त्यो बन्द संस्कारले त्यसलाई खुला हुन दिनैन । सत्य यही हो । त्यस्तै बन्द शासन व्यवस्था पनि जटिल र निर्मम हुन्छ । एक सय चार बर्षे राणा शासन बन्द शासन व्यवस्था हो । जुन जटिल र निर्मम थियो । शासक नदेखिनु र शासन देखिनु नै बन्द शासन व्यवस्था हो । जनताको आवाजलाई दबाउनु, जनताबाट टाडा रहनु, जनसहभागिता नखोज्नु, जनभावना विपरीत निर्णय गर्नु नै बन्द शासन व्यवस्थाका अबयबहरु हुन । 

संसदप्रति उदासिनता र सार्वजनिक मन्चको शुन्य उपस्थिति प्रधानमन्त्रीका लागि राम्रो होइन । विचारको विनिमय, भविष्यको प्रस्थान विन्दु र कामको गतिलाई जानकारी गराउने थलो संसद र सार्वजनिक मन्च नै हो । यस्तो उपस्थितिले सरकार कुन गतिमा कुन दिशा तर्फ अगाडि बडीरहेको छ भन्ने कुरा जनतलाई प्रष्ट पार्दछ । थोरै समयमात्र किन नहोस सरकारको त्यहाँ उपस्थिति अनिवार्य हुन्छ । संसदमा उठेका प्रश्नको जफाव दिने, सांसदसँग मित्रभाव कायम गर्ने, उनीहरुसँग विचारको आदान प्रदान गर्ने, समस्या समाधानका लागि सुझाव र सल्लाह लिने, भावी रणनीतिका बारेमा जानकारी गराउने आदि कार्य खुला शासन व्यवस्थाका गुणहरु हुन् । सत्ता र प्रतिपक्ष विच द्वन्द्व हुन्छ यो विश्वकै प्रचलन हो । तर त्यस्तो द्धन्द्धलाई छलफलका माध्यमबाट मित्रमत रुपमा समाधान गर्नु उन्नत लोकतान्त्रि अभ्यास हो । 

बन्द व्यवस्थामा सल्लाहकार एकांगी हुन्छ । शासकलाई गलत गर्नुभयो भन्ने हिम्मत सल्लाहकारमा हुँदैन । शासकको गुनगान बाहेक अरु केही देख्दैन । शासकले पनि आप्mनो जित सल्लाहकारको घेरा भित्र देख्छ । यसलाई शासकलाई हित गर्दैन । तर खुला व्यवस्थामा शासकले आफूलाई सेवक मान्छ । आमजनताको घेरामा बस्छ । जनतालाई आप्mनो बलियो घेरा मान्दछ । 

अन्तत संसदको गतिरोधलाई प्रधानमन्त्री स्वयमले सुल्झाउनु पर्दछ । संसदमा उपस्थित भएर जवाफ दिँदा प्रधानमन्त्रीले हार्नुहुन्छ भने, हार स्वीकार्नुपर्दछ । प्रधानमन्त्रीले हारेर देश र जनतालाई जिताउनु पर्दछ । प्रतिपक्षलाई उच्च कदर गर्दा नै प्रधानमन्त्रीको जीत हुन्छ । उनीहरुको सल्लाह र सुझावलाई संसदबाटै सम्बोधन गर्दा सरकारको एजेण्डाले जित्छ । प्रधानमन्त्रीप्रति सबैको अपनत्व बड्छ । सबैको साथ र सहयोगले प्रधानमन्त्री सफल हुने हो । प्रधानमन्त्री सफल हुनु भनेको देश सफल हुनु हो । रिस–राग र बैरभाव त्याग्नु जित्नु हो अन्यथा द्वन्द्व निम्तीने निश्चित छ । दुई तिहाई नजिकको यति बलियो सरकारले पनि काम गर्ने बातावरण बनाउन सकेन भने यसको दोष प्रधानमन्त्री स्वयंमले बोक्नु पर्नेछ । समय सधै एउटै रहदैन तसर्थ उदारता देखाउनुस र समस्या समाधानका लागि अगाडि बड्नुस । प्रतिपक्ष जिम्मेवार बिहीन छ तर सत्ता पक्ष जिम्मेवार बन्नु पर्छ । अनि बल्ल विकासको कामलाई तिब्रता दिन सकिन्छ । भूमिगत सत्ता होइन खुला सत्ता सञ्चालन देशको हितमा छ ।