गृहमन्त्री गुरुङ पाँचौं र मन्त्री पुन आठौं वरीयतामा


काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नवनियुक्त मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) पुनः निर्धारण गरिएको छ । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ सूचीअनुसार सरकारमा मंगलवार भएको नियुक्ति र जिम्मेवारी हेरफेरपछि मन्त्रिपरिषद्को शक्ति सन्तुलन तथा प्रशासनिक वरीयताको नयाँ स्वरूप देखिएको छ ।

सम्पत्ति विवरणसम्बन्धी छानबिनपछि ‘क्लिन चिट’ पाएर पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किनुभएका सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्न नियुक्त हुनुभएका महावीर पुनको प्रवेशसँगै मन्त्रिपरिषद्को मर्यादाक्रममा महत्वपूर्ण परिवर्तन देखिएको हो ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहनुभएको छ । त्यसपछि तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो स्थानमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहनुभएको छ ।

नयाँ सूचीमा गृहमन्त्री सुधन गुरुङलाई पाँचौं वरीयता दिइएको छ । गृह मन्त्रालयलाई राज्यको सुरक्षा, शान्ति व्यवस्था, प्रशासनिक समन्वय तथा विपद् व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मन्त्रालयका रूपमा हेरिने भएकाले उहाँको पुनरागमनलाई सरकारभित्र विशेष महत्वका साथ हेरिएको छ । केही समयअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा उठेका प्रश्नका कारण उहाँ मन्त्रालय बाहिर रहनुभएको थियो । तर, छानबिन प्रक्रियाबाट ‘क्लिन चिट’ पाएपछि पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको छ ।

त्यसैगरी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हाल्न आएका महावीर पुनलाई मन्त्रिपरिषद्मा आठौं वरीयता प्रदान गरिएको छ । अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर सरकारले गठन गरेको मन्त्रालयको नेतृत्वमा पुनको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लामो समयदेखि ग्रामीण क्षेत्रमा सूचना प्रविधि विस्तार, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा सक्रिय रहनुभएका पुनको नियुक्तिले प्रविधिमैत्री विकासको बहसलाई थप बल पु¥याउने अपेक्षा गरिएको छ ।

सरकारी मर्यादाक्रम केवल औपचारिक सूचीमात्र नभई राज्य सञ्चालनको प्रोटोकल, सरकारी कार्यक्रम, उच्चस्तरीय बैठक तथा विभिन्न औपचारिक समारोहमा पदाधिकारीहरूको स्थान निर्धारण गर्ने आधार पनि हो । त्यसैले मन्त्रिपरिषद् पुनर्गठनसँगै वरीयता सूचीमा हुने परिवर्तनलाई प्रशासनिक तथा राजनीतिक दुवै दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छ ।

विशेषगरी गृह मन्त्रालयमा गुरुङको पुनरागमन र नवप्रवर्तन मन्त्रालयमा पुनको प्रवेशले सरकारको आगामी कार्यदिशाबारे पनि विभिन्न विश्लेषण हुन थालेका छन् । सुरक्षा तथा प्रशासनिक क्षेत्रलाई मजबुत बनाउने उद्देश्यका साथ गृह मन्त्रालयलाई पुनः सक्रिय बनाउने प्रयास भइरहेको आँकलन गरिएको छ भने प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई आर्थिक विकाससँग जोड्ने सरकारी रणनीतिका रूपमा महावीर पुनको नियुक्तिलाई हेरिएको छ ।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहणपछि उहाँहरूले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नुभएको थियो । शपथग्रहणसँगै मन्त्रालयहरूको नेतृत्व परिवर्तनले सरकारका प्राथमिकता, नीति कार्यान्वयन र प्रशासनिक गतिविधिमा नयाँ गति आउने अपेक्षा गरिएको छ ।