दुर्घटना नियन्त्रण अझै चुनौतीपूर्ण


काठमाडौं ।

नेपालमा सडक दुर्घटनाका कारण प्रत्येक वर्ष हजारौँ नागरिकले ज्यान गुमाइरहेका छन् । सवारीसाधनको तीव्र वृद्धि, चालकको लापरबाही, सडक पूर्वाधारको कमजोरी र ट्राफिक नियमको कमजोर पालनाजस्ता कारणले दुर्घटनाको जोखिम अझै घट्न सकेको छैन ।

सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीले ट्राफिक प्रहरीमार्फत देशभर नियम कार्यान्वयन र अनुगमन गर्दै आएको छ । तर, नियम कार्यान्वयन कडाइसँगै कारबाहीको दर बढे पनि दुर्घटना घट्नुको साटो अवस्था जटिल बन्दै गएको देखिन्छ ।

पछिल्लो समय ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्ने अभ्यासलाई तीव्र बनाएको छ । राजधानी उपत्यकामा मात्र दैनिक करिब ३ हजारको हाराहारीमा ट्राफिक नियम उल्लंघनको अभियोगमा कारबाही हुने गरेको तथ्यांक छ । तर, यिनै कारबाहीप्रति सर्वसाधारण चालकहरूमा असन्तुष्टि बढ्दै गएको छ ।
धेरै चालकहरूले ट्राफिक प्रहरीको ध्यान दुर्घटना रोकथामभन्दा पनि राजस्व संकलनतर्फ केन्द्रित भएको आरोप लगाएका छन् । सामान्य गल्तीमा समेत कडा कारबाही हुने प्रवृत्तिले ट्राफिक प्रहरी र चालकबीचको सम्बन्धमा दूरी बढाएको उनीहरूको भनाइ छ ।

एक सार्वजनिक यातायात चालकले नाम उल्लेख नगर्ने सर्तमा भने– ‘सानातिना गल्तीमा पनि ठूलो जरिवाना तिराउनुपर्ने अवस्था छ । सुधारभन्दा बढी दण्ड दिने शैलीले हामीलाई असहज बनाएको छ ।’ उनका अनुसार, नियम पालन गराउने नाममा व्यावहारिक पक्षलाई बेवास्ता गरिएको छ ।

यता, ट्राफिक व्यवस्थापन विज्ञहरू भने कारबाहीमात्र समाधान नभएको बताउँछन् । उनीहरूका अनुसार जनचेतना अभिवृद्धि, सडक शिक्षा, चालक प्रशिक्षण र पूर्वाधार सुधारबिना दुर्घटना न्यूनीकरण सम्भव छैन । ट्राफिक व्यवस्थापन विज्ञ समशेर थापाले भन्नुभयो– ‘कारबाही आवश्यक छ तर पर्याप्त होइन ।

अहिलेको समस्या व्यवहार परिवर्तनसँग जोडिएको छ । जबसम्म चालक र पैदल यात्रु दुवैलाई निरन्तर शिक्षा दिइँदैन, दुर्घटना घट्दैन ।’ उहाँका अनुसार, नेपालमा ट्राफिक व्यवस्थापन अझै पनि दण्डमुखी प्रणालीमा आधारित छ, जबकि आधुनिक ट्राफिक व्यवस्थापनमा शिक्षा, प्रविधि र व्यवहार परिवर्तनलाई प्राथमिकता दिइन्छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने ट्राफिक प्रहरीले कारबाहीमात्र नभई सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको दाबी गर्नुभएको छ । उहाँका अनुसार सडक प्रयोगकर्तामा अनुशासनको कमी छ । त्यसैले नियम उल्लंघन रोक्न कारबाही गर्नुपर्ने अवस्था आउँछ । उहाँले ट्राफिक प्रहरीविरुद्ध लाग्ने आरोप अस्वीकार गर्दै सडकमा अनुशासन कायम गर्न दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

तर, नागरिक स्तरमा भने ट्राफिक प्रहरीको शैलीप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ । विशेषगरी सार्वजनिक सवारी चालक, ट्याक्सी व्यवसायी र निजी सवारी प्रयोगकर्ताले कारबाही प्रक्रिया बढी कठोर र कहिलेकाहीँ असन्तुलित भएको गुनासो गर्दै आएका छन् । विशेषज्ञहरूका अनुसार अहिलेको अवस्थाले ट्राफिक प्रहरी र सवारी चालकबीच विश्वासको संकट पैदा गरेको छ, जसले दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापनलाई कमजोर बनाउने खतरा बढाएको छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि केवल कारबाही होइन, समन्वय, शिक्षा, पूर्वाधार सुधार र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन् । अन्यथा, कारबाही बढ्दै जाँदा असन्तुष्टि पनि बढ्ने र समस्या अझ गहिरिने चेतावनी उनीहरूको छ । नेपालमा ट्राफिक व्यवस्थापन एकातिर कडाइ र कारबाहीमा केन्द्रित देखिए पनि अर्कोतर्फ नागरिक असन्तुष्टि बढ्दै जाँदा समग्र प्रणाली नै पुनरावलोकन गर्नुपर्ने बहस पुनः सतहमा आएको छ ।