प्रहरीमाथि हातपात गरेको आरोपमा सर्लाहीमा दुई जना पक्राउ, मुख्य आरोपी फरार


मलंगवा, सर्लाही।

सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वामा सवारी दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति करिब ९ बजे नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत अगर्वामा पार्किङ गरी राखिएको ना ६ ख ७६२३ नम्बरको ट्रक लाई ज १ त २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अवस्थामा ट्याक्टरधनी कबिलासी नगरपालिका–१० सलेमपुर निवासी अशोककुमार यादवको नेतृत्वमा आएको समूहले प्रहरीमाथि हातपात गरेको तथा नियन्त्रणमा रहेको ट्याक्टरसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा सलेमपुर निवासी १९ वर्षीय विक्रमकुमार यादव र २१ वर्षीय प्रियांशु यादवलाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न मुख्य व्यक्ति अशोककुमार यादव भने फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।