काठमाडौं । राम चरण र जान्हवी कपूर अभिनित फिल्म पेद्दी जुन ४ मा प्रदर्शनमा आएको थियो। रिलिजपछि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको भए पनि जान्हवी कपूरको भूमिकालाई लिएर विवाद चुलिएको छ। विशेषगरी अभिनेत्रीलाई प्रस्तुत गरिएको शैली र केही बोल्ड तथा रोमान्टिक दृश्यको सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि ती दृश्य फिल्मबाट हटाइएको बताइएको छ।
निर्देशक बुची बाबू सनाले हालै दिएको एक अन्तर्वार्तामा जान्हवी कपूरको पात्र अचियम्मासँग सम्बन्धित केही दृश्यहरू दर्शकले गलत रूपमा बुझेको र त्यसले विवाद निम्त्याएको स्वीकार गरेका छन्। उनका अनुसार महिलाप्रति अपमानजनक सन्देश दिन सक्ने ठानिएका दृश्यहरूलाई हटाउने निर्णय गरिएको हो।
फिल्म प्रदर्शनपछि सामाजिक सञ्जालमा जान्हवीका केही बोल्ड दृश्य र रोमान्टिक प्रसंगलाई अनावश्यक भन्दै आलोचना भएको थियो। महिला अधिकारका क्षेत्रमा काम गर्ने केही समूहहरूले समेत फिल्ममा महिलालाई प्रस्तुत गरिएको तरिकामाथि प्रश्न उठाएका थिए। त्यसपछि निर्माण टिमले विवादित दृश्यहरू काट्ने घोषणा गरेको थियो।
इन्डियन एक्सप्रेससँगको कुराकानीमा निर्देशक सनाले भने, “धेरै दर्शकले जान्हवी कपूरको ट्र्याकलाई राम्रो कथाभित्र अनावश्यक रूपमा हेरे। तर मेरो उद्देश्य राम चरणको पात्र ‘पेद्दी’को परिवर्तन र उसको यात्रा देखाउनु थियो, जसमा जान्हवीको पात्रको महत्वपूर्ण भूमिका थियो।”
उनले आफ्नो अघिल्लो फिल्मभन्दा फरक दृष्टिकोण अपनाउन खोज्दा केही दृश्यले गलत सन्देश दिन सक्ने अवस्था सिर्जना भएको स्वीकार गरे। “छायांकनको क्रममा केही शटहरू त्यस्ता बने, जसले दर्शकमाझ गलत अर्थ दिन सक्थे। त्यसैले हामीले आवश्यक कदम चालेर ती दृश्य हटाएका छौं,” उनले भने।
आलोचनाको केन्द्रमा परेको दृश्यहरूमध्ये जान्हवीको परिचय गराइने एक दृश्य र अर्को रोमान्टिक दृश्य पनि थियो। उक्त दृश्यमा राम चरणको पात्र ‘पेद्दी’ले जान्हवीको सहमति बिना उनलाई चुम्बन गर्ने र आफूलाई प्रेम व्यक्त गर्ने अर्को तरिका थाहा नभएको बताउने प्रसंग समावेश रहेको बताइएको छ।
विवाद बढेपछि निर्देशक बुची बाबू सनाले सार्वजनिक रूपमा क्षमायाचना गर्दै ती दृश्य हटाइने बताएका थिए। यद्यपि, यस विषयमा फिल्मका मुख्य कलाकार राम चरण र जान्हवी कपूरले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।











प्रतिक्रिया