बैंकिङ कसूरका १४ मुद्दाका फरार प्रतिवादी पक्राउ, २ करोड ५८ लाखभन्दा बढी बिगो असुलउपरको प्रक्रिया सुरु

0
Shares

काठमाडौं, । बैंकिङ कसूर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४७ वर्षीय राजु मिजारलाई काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट पक्राउ गरेको जनाएको छ।

सीआईबीका अनुसार काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका बैंकिङ कसूरका १२ र चेक अनादरका २ गरी कुल १४ वटा मुद्दामा मिजार दोषी ठहर भएका थिए। अदालतको फैसलाअनुसार उनीबाट २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो, ४३ लाख २३ हजार ५३४ रुपैयाँ ८० पैसा जरिवाना तथा १ लाख ७२ हजार ९४१ रुपैयाँ ३९ पैसा क्षतिपूर्ति असुल गर्नुपर्ने र ९० दिन कैद सजाय भुक्तान गर्नुपर्ने ठहर भएको थियो।

फैसला कार्यान्वयनबाट लामो समयदेखि फरार रहेका मिजारलाई सीआईबीको टोलीले खोजी गरी पक्राउ गरेको हो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। हाल अदालतको आदेशअनुसार बिगो, जरिवाना र क्षतिपूर्ति असुलउपर तथा कैद सजाय कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ।

Compose