लमजुङ।
दशैँ अवधिभर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारीसाधन चेकजाँच तथा निगरानीलाई तीव्रता दिँदै ट्राफिक नियम उल्लङ्घन गर्ने १ सय ८३ वटा सवारी साधनमाथि कारबाही भएको छ। कारबाहीबाट कार्यालयले कुल १ लाख ९४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतमबहादुर खत्रीका अनुसार चाडपर्वका बेला यात्रुको चाप र सवारी आवागमन बढ्ने भएकाले ट्राफिक नियमको पालना गराउन जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा निगरानीलाई कडाइ गरिएको थियो ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। त्यस्तै, यात्रु तथा सर्वसाधारणबाट प्राप्त गुनासोका आधारमा निर्धारित भाडादरभन्दा बढी भाडा असुल्ने १० वटा सवारीसाधनलाई कारबाही गरिएको खत्रीले जानकारी दिए।
यसैगरी, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारीसाधनका अन्य भागमा समेत यात्रु राखेर सञ्चालन गरिएका ५७ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। हेलमेट तथा सिटबेल्ट प्रयोग नगरी सवारी चलाउने नौवटा सवारीसाधनलाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाहीसँगै यात्रुको सुरक्षा, निर्धारित भाडादरको कार्यान्वयन तथा सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर निगरानी बढाइएको कार्यालयले जनाएको छ।
यसैबीच, दशैँ अवधिमा लमजुङ जिल्लाभित्र दुईवटा सवारी दुर्घटना भएका छन । ती दुर्घटनामा तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका थिए । दुर्घटनामा परी कुल चार जना घाइते भएको विवरणमा उल्लेख छ।
चाडपर्वको समयमा यात्रुको आवागमन बढ्ने र सार्वजनिक सवारीसाधनमा चाप पर्ने भएकाले नियमविपरीत यात्रु बोक्ने, बढी भाडा असुल्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकजाँचलाई प्रभावकारी बनाइएको प्रनानि खत्रीले बताए ।
उनले सुरक्षित यात्राका लागि चालक, यातायात व्यवसायी र यात्रु सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै निर्धारित भाडादरभन्दा बढी भाडा नतिर्न र त्यस्तो समस्या देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेका छन ।











प्रतिक्रिया