एनपीएल : साविक विजेता लुम्बिनीको शानदार सुरुवात


काठमाडौं ।

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ सिजनमा शानदार सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले १० ओभरभित्रै ३ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै ४० रनको योगदान दिए। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै, आसिफ शेखले ३२ रन बनाए। लुम्बिनीलाई जितका लागि ६ रन आवश्यक रहेका बेला आसिफ आउट भए। उनलाई सुदूरपश्चिमका बलर खरेलले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराएका थिए।

आसिफ यसै सिजन जनकपुरबाट रिलिज भएपछि लुम्बिनीमा अनुबन्ध भएका हुन्। पहिलो सिजन जनकपुरले उनलाई मार्की खेलाडीका रूपमा टोलीमा भित्र्याएको थियो। नयाँ टोलीबाट खेल्दै उनले पहिलो खेलमै उपयोगी योगदान दिए।

लुम्बिनीका निरोशन डिकवेला ७ रन बनाएर दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए। त्यसपछि शामिम हुसेन १ रन र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।

यस जितसँगै लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।