काठमाडौं, (नेस) ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेपनि एन्फाका पदाधिकारीमाथिको विदेश भ्रमणको रोक भने यथावत नै रहेको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, पदाधिकारी, सदस्य र कर्मचारीसहित २४ जनालाई विदेश यात्राको रोक लगाइएको हो ।
राखेपले उनीहरूको प्रतिबन्ध फुकुवा नगरेपछि एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राई अमेरिका, मेक्सिको र क्यानडाद्वारा आयोजना हुने फिफा विश्वकपको उद्घाटनमा सहभागि हुन नसक्ने भएका छन् । उनीहरू विश्वकपको उद्घाटनमा सहभागि हुन मेक्सिको जाने योजनामा रहेको स्रोतले जनाएको छ ।
एन्फा अध्यक्ष नेम्वाङसहितको टोली फिफा र एएफसीको पत्र लिएर राखेप सदस्य सचिव रामचरित्र मेहतालाई भेट्न गएका थिए । उनीहरूले सदस्य सचिव समक्ष विदेश यात्राको रोक हटाउन निवेदन गरेका थिए । तर, सदस्य सचिवले विदेश जानको लागि हालको पदबाट राजीनामा दिनु पर्ने जवाफ फर्काएको स्रोतले जनायो ।
सरकारले बैशाख ११ गते एन्फाका अध्यक्ष नेम्वाङ, पदाधिकारी, सदस्य र कर्मचारीसहित २४ जनालाई विदेश यात्रा गर्न रोक लगाएको थियो । राखेपको सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष सहित ६ पदाधिकारी तथा १४ केन्द्रीय सदस्यलाई कालोसूचीमा राख्दै विदेश जान रोक लगाइएको थियो ।
एन्फा नेतृत्वको आलोचक रहेका ३ उपाध्यक्ष दीपक खतिवडा, विराटजंग शाही, दीर्घबहादुर (कुमार) केसीसहित पक्षमा रहेका दावा लामा पनि विदेश जान नपाउने सूचीमा छन् तर अध्यागमनको रोकबावजुद एन्फाका सीईओ इन्द्रमान तुलाधर फिफाको कँग्रेसमा भाग लिन भारत हुँदै क्यानाडा पुगेका थिए ।
राखेपले विनासर्त जेठ १ गते एन्फा माथिको निलम्बन फुकुवा गरेको थियो । विनाशर्त भनिएपनि तहगत निर्वाचनका लागि एन्फा तयार भएपछि निलम्बन फुकुवा गरिएको थियो ।











प्रतिक्रिया